काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई स्वतन्त्र मान्ने नीति भएकाले संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले गरेको निर्णयलाई पार्टीले सहर्ष स्वीकार गर्ने बताएका छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित पलाँतीमा आयोजित फुटबल प्रतियोगिताको समापन समारोहलाई आज सम्बोधन गर्नेक्रममा सभापति देउवाले अदालत स्वतन्त्र निकाय भएकाले स्वतन्त्ररूपमा निर्णय गर्न पाउनुपर्छ भन्दै अदालतलाई सडकबाट धम्क्याउने काम पार्टीको नीतिभित्र नपर्ने स्पष्ट पारे । काँग्रेस प्रजातान्त्रिक पार्टी भएको उल्लेख गर्दै संसद् पुनःस्थापना भए पनि अथवा निर्वाचन हुने भए पनि पार्टी पछि नहट्ने धारणा उनले राखे ।
काँग्रेसका केन्द्रीय सदस्य एवं खेलकूद विभाग प्रमुख मोहनबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीको आन्तरिक कलहलाई मिलाउन असफल भएपछि बहुमतको सरकार भए पनि संसद् विघटन गरेको बताए ।
पूर्वमन्त्री बस्नेतले आफ्ना मातापिता कोमल माया–खड्गका स्मृतिमा आयोजना गरेको फुटबल प्रतियोगिताको आज भएको फाइनल खेलमा मेलम्ची नगरपालिकालाई शून्यका विरुद्ध एक गोलले पराजित गरी सुनकोशी गाउँपालिका विजय भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया