लुटिएको नाटक गरेर प्रहरीलाई झुक्क्याए, अन्तत: आफै फसे

काठमाडौँ- आफु लुटिएको भनेर प्रहरीलाई झुटो खवर गर्ने एक युवकलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ६ का २५ बर्षीय हुकुम पुन मगर झुटो कुरा गरेर प्रहरीलाई झुक्याउन खोजेपछि पक्राउ परेका हुन । मगरले पुस २६ गते राति साढे ९ बजेतिर आफैं जिल्ला प्रहरी कार्यालयमा पुगेर आफुलाई घोराहीको शहिद गेटमा युवाहरुको एक समुहले आँखामा खुर्सानीको धूलो छर्केर चार लाख ३६ हजार रुपैंया लुटेर लगेको बताएका थिए ।

मगरले आफैं प्रहरी कार्यालयमा पुगेर लुटिएको बेहोरो अवगत गराउँदै सहयोग मागेपछि प्रहरीले मगरलाई समेत साथमै लगेर तत्कालै घटनास्थलमा पुगेर अनुसन्धान गर्दा उनले झुटो बोलेको पत्ता लागेपछि उनी पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय दाङले मंगलवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलन गरेर मगरले तिर्नुपर्ने पैसा  नतिर्नका लागि आफैं नाटक गरेर प्रहरीलाई उल्लु बनाउन खोजेपनि आँफै फसेको जानकारी दिएको छ ।

प्रहरीले रोल्पाको फगाम निवासी हरि पुनलाई तिर्नुपर्ने ४ लाख रुँपैंया तिर्नु नपरोस्  भनेर आँफैं खुर्सानीको धुलो किनेर आँफैले आफैलाई छर्किर झुटो नाटक गरेको खुल्न आएको बताएको छ । प्रहरीले गलत सूचना गरि झुट्टा अफवाह  फैलाउन खोज्ने मगर बिरुद्ध शान्ति बिरुद्धको कसुरमा मुद्दा चलाएर आवश्यक कारवाही थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?