लमजुङ । लमजुङ उद्योग वाणिज्य संघको १७ औँ अधिवेशनबाट अध्यक्षमा गुणराज सिलवाल विजयी भएका छन् ।
लोकतान्त्रिक समूहका सिलवालले आफ्ना प्रतिस्पर्धी प्रगतिशील समूहका श्रीकृष्ण लामिछानेलाई ३१४ मतान्तर गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । घोषणा गरिएको मतपरिणामअनुसार सिलवालले एक हजार ३५९ मत प्राप्त गरे भने लामिछानेले एक हजार ४५ मत प्राप्त गरेका थिए । सिलवाल संघमा द्वितीय उपाध्यक्ष र लामिछाने महासचिवको जिम्मेवारी सम्हालीसकेका छन् ।
त्यस्तै संघको प्रथम उपाध्यक्षमा लोकतान्त्रिक समूहकै मृगेन्द्र घिमिरेले प्रगतिशील समूहका विकास श्रेष्ठलाई १५९ मतान्तरले पछि पार्दै विजयी भएका छन् । द्वितीय उपाध्यक्षमा लोकतान्त्रिक समूहकै भरतकुमार श्रेष्ठले ३२२ मतले आफ्ना निकटम प्रतिद्वन्द्वी प्रगतिशील समूहका भरतबहादुर विष्टलाईपछि पार्दै निर्वाचित भएका छन् । तृतीय उपाध्यक्षमा कृष्णजङ्ग गुरुङ विजयी भए ।
महिला सदस्यमा एक हजार २८७ र एक हजार १९५ मत ल्याएर क्रमशः आइसा मियाँ र मनु पन्त विजयी भएका छन् । खुला सदस्यमा शिवराम सिलवाल एक हजार २५२, सुरेशकुमार प्रधान एक हजार २८८ र प्रदीप बस्नेत एक हजार २७४ मतका साथ विजयी भएका छन् ।
कूल दुई हजार ६८४ मतदाता रहेकामा दुई हजार ४६७ मत खसेको थियो । शनिवार सम्पन्न निर्वाचनको मतगणना आइतवार अपराह्न १ बजेदेखि शुरु भएको थियो ।
कञ्चनपुर– होटेल व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा जगदीशचन्द्र भट्ट निर्विरोध निर्वाचित भएका छन् ।
संघको १६औँ अधिवेशनमा अध्यक्ष भट्टको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । यस अघि संघमा भट्ट पर्यटन उपाध्यक्ष रहेका थिए ।
यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा केशव सिंह जोरा, महासचिवमा रामचन्द्र रेग्मी र कोषाध्यक्षमा लोकबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा प्रकाश कुँवर, डम्बर ठकुल्ला, मोहनबहादुर सिंह, मीना शाह, मानसिंह ऐर, शिव भण्डारी र सागर बुढाऐर निर्विरोध निर्वाचित भएका छन् । चार सदस्यपछि कार्यसमिति र अध्यक्षले मनोनित गरी समितिलाई पूर्णता दिने विधान छ ।
प्रशासन उपाध्यक्षमा सुशीलकुमार भट्ट र केशवसिंह धामीले उम्मेदवारी दिएका छन् । भट्ट संघका निवर्तमान समितिका महासचिव हुन् । पर्यटन उपाध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् । पर्यटनका लागि महेश बोहरा र राजन टुकुरिया उम्मेदवार छन् । सचिवमा लोकराज पोखरेल र डम्बर खड्काले उम्मेदवारी दिएका छन् ।
आज मंगलवारसम्म उम्मेदवारी फिर्ता लिने समय तालिका बनाइएको छ । उम्मेदवारी फिर्ता नभए निर्विरोध हुन नसकेका सबै पदमा निर्वाचन हुनेछ । संघमा अहिलेसम्म निर्विरोध नेतृत्व चयन हुँदै आएकाले त्यसका लागि पहल अघि बढेको छ ।
संघमा ४०८ व्यवसायी मतदाता छन् । नयाँ समितिको अध्यक्षमा निर्विरोध भएका भट्ट होटल गङ्गोत्रीका सञ्चालक हुन । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री माया भट्टले शनिवार अधिवेशन उद्घाटन गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया