कञ्चनपुरमा सीमा मिचिएको बारे एसएसबी गर्यो यस्तो दाबी

काठमाडौं । नेपालको कञ्‍चनपुर र भारतको उत्तरप्रदेशको सीमा क्षेत्रमा सीमा मिचिएको भन्दै स्थानीयहरुले विरोध गर्दै आएका छन् । तर, भारतीय पक्षले भने उक्त क्षेत्रमा उखु तस्करीलाई रोक्‍न चेकपोइन्ट स्थापना गरिएको बताएको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको भन्दै प्रकाशित गरिएको समाचारप्रति यसअघि नै खण्डन गरिसकेको छ ।

एसएसबीले भारतको पिलभीत जिल्ला र नेपालको कञ्‍चनपुरको बेलोरी र बेलडाँडी नगरपालिकाको सीमा जोडिएको क्षेत्रमा चेकपोइन्ट स्थापना गरिएको जनाएको हो ।

यस सीमा क्षेत्रमा स्थानीयहरुले उखु बाली बिक्रीका लागि लैजाने गरेको र अहिले उखुको सीजन भएकाले गर्दा एसएसबीका अधिकारीहरूले भारतीय क्षेत्रमा सीमा छेउछाउको अस्थायी चेकपोइन्टहरु स्थापना गरेको जनाइएको हो ।

स्थानीय मिडियाहरुले उक्त चौकीहरु ‘नो म्यान्स ल्याण्ड’मा बनाइएको दाबी गरेका छन् । उनीहरुले सामाजिक सञ्‍जालमा भारत र भारतीय एसएसबी विरोधी पोस्टहरु गरिरहेका छन् ।

तर एसएसबीका अधिकारीहरुले उक्त चौकीहरु ‘नो म्यान्स ल्याण्ड’मा नभएको दाबी गरेका छन्। यो घटनाको बारेमा एसएसबी ४९ बटालियनले आफ्नो माथिल्लो निकायमा मौखिक रिपोर्ट प्रस्तुत गरिसकेको छ ।

‘उखुको तस्करी रोक्नका लागि अस्थायी चौकीहरु निर्माण गरिएको हो, दशगजाको नजिकै रहेको चौकी राखिएको स्थान भारतमा पर्दछ र नेपाली अधिकारीहरूलाई यस विषयमा पूर्ण जानकारी छ’ भारतीय अधिकारीहरुले भनेका छन् ।

केही स्थानीय सञ्चारमाध्यमहरुले भने राजनीतिक कारणले एसएसबी विरोधी सन्देश पोस्ट गरिरहेको समेत भारतीय पक्षले स्पष्ट पारेको छ ।

‘तटबन्ध भारतीयतर्फ छ र भारतीय पक्षले नदी पार गरेको छैन, नदीको धारले हरेक वर्ष भूमिमा क्षति पुर्‍याएको छ र नेपाली पक्षले पनि आफ्नो छेउमा तटबन्ध निर्माण गर्नुपर्दछ अन्यथा स्वभाविकरुपमा बाढी आउँछ’, भारतीय पक्षले भन्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?