भारतमा बर्ड फ्लू नियन्त्रण बाहिरः नेपालमा बढ्यो जोखिम, के छ सरकारको तयारी ?

‘वेलैमा सावधानी नअपनाए भयावह हुनसक्छ’

काठमाडौं । कोभिड १९ को महामारीसँग जुध्दै गरेको भारतलाई अहिले बर्ड फ्लूले थिलथिलो बनाइदिएको छ । कोरोना महामारीविरुद्ध आउँदा महिनाहरूमा लाखौँको सङ्ख्यामा खोप लगाउने अभियानको तयारी शुरु गरिरहँदा भारतमा बर्ड फ्लूको नयाँ सङ्कट आइपरेको हो ।

राजस्थानबाट शुरु भएको बर्डफ्लू अहिले भारतको ९ वटा राज्यमा फैलिसकेको छ । उत्तरप्रदेश, राजस्थान, मध्य प्रदेश, हिमाचल प्रदेश, हरियाणा, केरला, गुजरात, महाराष्ट्र हुँदै राजधानी दिल्लीमा समेत बर्ड फ्लू पुष्टि भइसकेको छ ।

पहिलोपटक राजस्थानमा सन् २०२० को डिसेम्बर २५ मा बर्ड फ्लू देखिएको थियो । एकाएक कुखुरा तथा हाँसको मृत्यु हुन थालेपश्चात् परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको थियो ।

पछिल्लो केही हप्ताभित्रै हरियाणामा ४ लाख पन्छीहरुको मृत्यु भइसकेको छ । त्यस्तै केरलामा १२ हजार हाँसको मृत्यु भएपछि संक्रमण फैलिनबाट रोक्न राज्यको मापदण्डअनुसार विभिन्न ३६ हजार पन्छी मारिएको छ ।

भारत सरकारले उच्च सतर्कता जारी गर्दै बर्ड फ्लू फैलिन नदिनका लागि आपत्कालीन उपायहरू अपनाउन भनेको छ । मानिसहरूलाई मरेका वा बिरामी देखिएका चराहरू नछुन भनिएको छ । केही जिल्लाहरूमा पन्छी बिक्री गर्ने पसलहरू समेत बन्द गरिएका छन् भने अन्डा बिक्रीको काममा समेत रोक लगाइएको छ ।

नेपालमा कस्तो छ सुरक्षा तयारी ?

छिमेकी मुलुक भारतमा बर्ड फ्लूको संक्रमण भुसको आगोसरि सल्किएपछि नेपालमा पनि यसको जोखिम बढेको छ ।

विशेष गरी भारतसँग सिमाना जोडिएका तराईका जिल्लाहरूमा कुखुरा, हाँस लगायत पन्छीहरुको ओसारपसार कायम हुने सम्भावना रहेको छ । यस्तो वेला व्यापारीहरुले खुल्ला सिमानाको फाइदा उठाउने सम्भावना बढी हुन्छ ।

भारतमा फ्लू देखिएपछि उताको कुखुराको मूल्य सस्तो हुने हुँदा सीमा क्षेत्रका व्यापारीहरूले उताबाट कम मूल्यमा कुखुरा ल्याएर यताको बजारमा महंगो मूल्यमा बेच्न सक्छन् । यसले एकातिर नेपालमा बर्ड फ्लूको संक्रमण फैलिने जोखिम बढ्छ भने अर्कातिर कालो बजारी ।

त्यसैले, भारतसँग जोडिएको प्रदेश २ का आठवटै जिल्लामा सुरक्षा सतर्कता अपनाउन जिल्ला पशु कार्यालयलगायत सम्बद्ध निकायमा खबर गरिसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले बताए । मन्त्रालयले स्थानीय निकायहरूलाई सुरक्षा व्यवस्थाका लागि थप जनशक्ति तथा मेशिनरी सामाग्र आवश्यक परेमा जानकारी गराउन निर्देशन दिइसकेको डा.घिमिरेले बताए ।

नेपालमा बर्डफ्लु भित्रिन नदिन प्रदेश २ को आठवटै जिल्लाको दक्षिणी सीमासँग जोडिएको नाकामा रहेका सशस्त्र प्रहरीलाई निगरानी बढाई थप कडाइ गर्न भनेर परिपत्र गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी राजु अर्यालले बताएका छन् ।

प्रदेश नं २ को सप्तरीदेखि पर्सासम्म ४६४ किलोमिटर दक्षिणी सीमा क्षेत्र भारतसँग जोडिएको छ र उक्त सीमा नाकामा ६७ वटा बिओपी र ३५ वटा एफओपी को पोष्ट रहेको छ । ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट पन्छीजन्य वस्तुको आयातमा रोक लगाउन भनी निर्देशनसमेत दिइएको छ ।

नेपालमा बर्ड फ्लूको संक्षिप्त इतिहास

नेपालमा पहिलोपटक सन् २००९ मा बर्ड फ्लू देखिएको थियो । त्यसपछि हरेक वर्षजसो अथवा केही वर्षको अन्तरालमा बर्ड फ्लू देखिइरहन्छ नेपालमा पनि ।
यसले सबैभन्दा ठूलो क्षति चाहिँ सन् २०१३ मा पु-याएको थियो । त्यसवेला काठमाडौं, चितवन, धादिङ, झापादेखि कैलाली गरी नेपालका २ सय १ वटा ब्रोइलर र लेर्यस कुखुराका फार्महरूमा यसको संक्रमण फैलिएको थियो ।

त्यसैगरी, बर्ड फ्लूकै कारण नेपालमा पहिलोपटक मानिसको ज्यान गएको घटना भनेको वि.सं २०७५ साल चैत १५ गते भएको थियो । ज्वरो र खोेकीको लक्षण देखिएपछि अस्पताल पुगेका २१ वर्षीय युवामा पछि श्वासप्रश्वासको समस्या पनि देखिएको थियो । उपचारका क्रममा उनको मृत्यु भयो । के कारणले मृत्यु भएको भनेर खुट्याउन नसकेपछि परीक्षणका लागि उनको र्‍याल जापानको प्रयोगशालासम्म पु-याइएको थियो । वि.सं २०७६ साल वैशाख १७ गते बल्ल नमूना परीक्षणको नतिजा आइपुगेको थियो जसमा उनी बर्ड फ्लू संक्रमित रहेको पुष्टि भएको थियो ।

के हो बर्ड फ्लू ?

इन्फ्लूएन्जा भाइरसको कारण चराहरुमा फैलिने एभिएन इन्फ्लूएन्जा नामक संक्रामक महामारी हो बर्ड फ्लू । इन्फ्लुएन्जा भाइरसका तीन समूह हुन्छन् जसमध्ये समूह ‘ए’मा पर्ने भाइरसको संक्रमणबाट चराहरुमा फैलिने महामारी रोगलाई बर्ड फ्लू भन्ने गरिन्छ ।

जंगली चराहरु त्यसमा पनि विशेषगरी सीमसारतिर बस्ने चराहरुमा यो भाइरस पाइन्छ । यसको संक्रमण भने सबै प्रजातिका चराहरुलाई हुने गर्छ । जंगली चराहरुको रोग प्रतिरोधात्मक क्षमता बलियो हुने भएकाले यस भाइरसले घर पालुवा पन्छी जस्तो तिनीहरुलाई थला पार्न सक्दैन । त्यस्ता चराहरुमध्ये पनि विशेष गरेर जंगली हाँसमा यो भाइरसलाई प्रतिरोध गर्ने क्षमता निक्कै बढी हुने गरेको पाइन्छ ।

यस भाइरसको संक्रमणले कुखुरा, टर्की, हाँस जस्ता घरपालुवा चराहरुलाई भने निकै असर पुर्‍याउँछ । जसको परिणामस्वरुप घरपालुवा चराहरुमा छिट्टै नै यसको संक्रमणले महामारीको रुप लिन पुग्छ ।

***

विश्व कोरोना महामारीसँग लडिरहेका वेला बर्ड फ्लूको महामारीले थप तनावपूर्ण स्थिति निम्त्याउन सक्छ । विशेष गरेर भारतसँग खुल्ला सिमाना भएकाले नेपाल अझै बढी यसको जोखिममा छ । संक्रमण फैलिएपछि त्यसको रोकथामका लागि स्रोतसाधन जुटाउन हम्मेहम्मे पर्ने हाम्रो जस्तो राष्ट्रले यसबाट जोगिने एउटा मात्र भरपर्दो उपाय भनेकै पूर्वतयारी हो । सरकारले तत्काल यसको लागि ठोस कदम नचाले परिस्थिति भयावह हुनसक्ने विज्ञहरुको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?