नागरिक पेन्सन योजनाको अनलाइन रजिष्ट्रेसन सेवा शुरु, यसरी भर्नुहोस् फाराम

काठमाडौं । नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिष्ट्रेसन सेवा शुरु गरेको छ ।

अनलाइन रजिष्ट्रेसन सेवाको शुरुवातसँगै यसमा सहभागी हुन चाहनेले कोषको कार्यालयमा आउन नपर्ने भएको छ ।

यस्को लागि योजनामा सहभागी हुनको लागि http://nlk.org.np/home मा गएर Eservice मा गएपछि New-E-service login पश्चात Ragister For Penson Yojana मा गई वा https://eservicenew.nlk.org.np/Portal/SchemeAccountOpeningKycMaster/Create मा login गरी सहभागी हुन चाहनेले पोर्टलमा उल्लेख गरे अनुसारको विवरण भरेपछि अनलाइन सेवा लिन सक्नेछन ।

यो योजना सबै नेपालीलाई सहभागी गराउने गरी ल्याइएको योजना भएको हुँदा इन्टरनेट सेवा पुगेका स्थानबाट सहभागी हुन इच्छुक व्यक्तिहरुले सजिलै सहभागी हुन सक्ने छन । यस योजनामा आय आर्जन गर्ने जो सुकै, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था, एबं प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् ।

यसमा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक ५ सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा रकम जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक÷त्रैमासिक÷अर्धवार्षिक÷वार्षिकरुपमा पनि रकम जम्मा गर्न सकिने विशेषता समेत रहेको छ ।

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठी वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । बचतकर्र्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ बर्ष पश्चात समेत एकमुष्ठ रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भूक्तानी लिन सक्नेछन् ।

कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन् । सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउन सक्ने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?