आफ्नो समूहले नै आधिकारिकता पाउने माधव नेपालको दाबी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगले आफूहरुलाई नै आधिकारिकता दिने बताएका छन् ।

‘निर्वाचन आयोगले कुनै व्यक्तिको लहडमा नचल्ने बताएको छ । आयोगले ४४१ जनाको केन्द्रीय कमिटी र पार्टीको विधानअनुसार निर्णय गर्नेछ’, सोमवार राजधानीमा आयोजित बृहत् नागरिक भेलामा बोल्दै नेपालले भने ।

निर्वाचन आयोगले प्रचण्ड–माधव पक्षलाई पठाएको पत्र बारे स्पष्ट पार्न उनीहरु आजै निर्वाचन आयोग पुगेका थिए ।

नेकपाको प्रचण्ड–माधव र ओली समूहले पार्टीको आधिकारीकताका लागि निर्वाचन आयोगमा दावी प्रस्तुत गरेका छन् । सोही बीचमा प्रचण्ड र नेपाललगायतका नेताहरु आयोग पुगेका थिए ।

आयोगबाट फर्किएलगत्तै बृहत् नागरिक भेलामा सहभागी भएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा हिँडिरहेकालाई समेत केन्द्रीय सदस्य बनाउन थालेपछि मानिसहरु बालुवाटारको बाटो हिँड्नै छाडेको भन्दै व्यङग्य गरे । नेपालले ओली गणतन्त्रप्रति चिन्तित नरहेको समेत आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?