नेपाली जनताको जीवनलाई सहज बनाउनु नै निगमको प्रमुख लक्ष्य : कार्यकारी निर्देशक पौडेल

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले गुणस्तरीय पेट्रोलियम पदार्थको नियमित रुपमा आपूर्तिद्वारा नेपाली जनताको जीवनलाई सहज बनाउनु नै निगमको प्रमुख लक्ष्य रहेको बताएका छन् ।

आइतवार नेपाल आयल निगमको ५१ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कार्यकारी निर्देशक पौडेलले त्यस्तो बताएका हुन् । “गुणस्तरीय पेट्रोलियम पदार्थको नियमित रुपमा आपूर्तिद्वारा नेपाली जनताको जीवनलाई सहज बनाउनु नै निगमको प्रमुख लक्ष्य हो ।” उनले भने ।

त्यस्तै पेट्रोलियम पदार्थको व्यापारमा एकाधिकार प्राप्त गरेको नाफा मुलक व्यवसायीक संस्था निगमले व्यवसायीक उत्तरदायीत्वलाई पूर्णरुपमा पालना गर्दै राज्यको आर्थिक मार्गचित्रलाई ध्यानमा राखी सेवामूलक संस्थाको रुपमा काम गरिहेको बताएका छन् ।

“पेट्रोलियम पदार्थको कारोवारमा एकाधिकार प्राप्त नाफामुलक व्यवसायिक यस संस्थाले आफ्नो व्यवसायीक उत्तरदायीत्वलाई पूर्णरुपमा पालना गर्दै राज्यको आर्थिक मार्गचित्रलाई ध्यानमा राखी सेवामूलक संस्थाको रुपमा समेत आफ्नो स्थापनाकाल देखिनै भूमिका निर्वाह गर्दै आएको छ । गौरवपूर्ण इतिहास वोकेको यस संस्थाले समयको हरेक आरोह अवरोहसंगै थुप्रै प्राकृतिक तथा आर्थिक संकटको सामना गरेता पनि लक्ष्य प्राप्तिमा रत्तिभर विचलित नभई सदैव उद्येश्य प्राप्तिमा निगम अघि बढ्दै आएको छ ।” उनले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका छन्, “पूर्वाधारमा भैरहेको तिव्र विकासले गर्दा पेट्रोलियम पदार्थको माग प्रत्येक वर्ष दुई अङकको दरले बृद्धि हुदै गरेकोले माग र आपूर्ति विच तालमेल कायम गर्न संचयको लागि भण्डारणहरुको विस्तार तथा अन्य भौतिक पूर्वाधारको निर्माण गर्दै जाने नीति स्वरुप यसै आर्थिक वर्षमा गण्डकी प्रादेशिक कार्यालय पोखरा र २ नं. प्रादेशिक कर्यालय अमलेखगञ्जमा भण्डारण गृहको निर्माण र विस्तार तथा झापा र धनुषामा ग्याँस बोटलिङ प्लान्ट र भण्डारण निर्माण, अमलेखगञ्ज–चितवन लोथर पेट्रोलियम पाइपलाइन, सिलगुढी–झापा पाइपलाइन निर्माण, झापाको चारआलीमा भण्डारण गृह निर्माण तथा नेपालगञ्ज र धनगढीमा भण्डारण क्षमता अभिबृद्धिको लागि जग्गा प्राप्ती जस्ता कार्यको शुभारम्भ गरि पूर्वाधार विकासमा विशेष जोड दिइएको छ । हाल संचालनमा रहेको मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइन मार्फत पेट्रोल समेतको आयात गर्ने प्रक्रिया प्रारम्भ गरिएको छ ।”

त्यस्तै नेपालका बौद्दिक केन्द्रहरु त्रिभुवन तथा काठमाडौं विश्वविद्यालयहरुसँग सहकार्य गर्दै निगमलाई आवश्यक पर्ने विविध विषयको प्राविधिक अध्ययन एवं अनुसन्धानका क्षेत्रहरुमा आवश्यक सम्झौता गरी प्रकृया अघि बढाइएको बताएका छन् ।

साथै आगामी माघ १ गते देखि निगमको देशभर रहेका सम्पूर्ण कार्यालयहरुको CCTV Surveillance System तथा विद्युतीय हाजिरी प्रणालीलाई Centrally Synchronization/Integration गरी निगमले तयार गर्दै गरेको ERP Software Modules मा समाहित गर्ने तयारी सम्पन्न भएको बताए ।

पेट्रोलियम पाइपलाइन मार्फत हाल डिजल मात्र आयात भइरहेको परिप्रेक्ष्यमा अबको २ वर्ष भित्र पाइपलाइनबाट पेट्रोल समेत ल्याउने तयारी गरिएको उनले बताए । त्यस्तै एल.पि. ग्याँसको ढुवानीका लागि इण्डियन आयल कर्पोरेशनको वितरण केन्द्रलाई नेपाली सिमा नजिकको लोकेशनबाट आयातको व्यवस्था मिलाउन आवश्यक कार्यको थालनी गरिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?