थाहा पाइराखौँ : यसकारण जलाइन्छ पुराना नोट, कति हुन्छ नेपाली नोटको आयु ?

'५ खर्ब ४३ अर्ब ३६ करोड ७४ लाख ७३ हजार ५ सय २५ रुपैयाँ जलिसक्यो !'

लोकपथ
0
Shares

कमला अर्याल/काठमाडौं । के तपाईलाई थाहा छ हामीले प्रयोगमा ल्याउने गरेका नयाँ नोट पनि एकदिन जलाइन्छ ?

धार्मिक मान्यताअनुसार नोट जलाउन हुँदैन । तर नेपाल राष्ट्र बैंकले भने यस्ता पुराना र प्रयोग गर्न नमिल्ने नोट जलाएर नष्ट गर्ने गर्दछ । राष्ट्र बैंकले चलनचल्तीमा ल्याउन नमिल्ने मैला, थोत्रो, च्यातिएका तथा झुत्रा नोटहरु नष्ट गर्दै आएको छ । राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले यस्ता प्रयोग गर्न नमिल्ने नोटहरु हरेक वर्ष नष्ट गर्दै आएको छ ।

यसरी हुन्छन् झुत्रा नोट छनोट :

राष्ट्र बैंकले आवश्यकता अनुसार नयाँ नोट बजारमा पठाउँदै आएको छ । सर्वसाधारणले दैनिक रुपमा प्रयोग गर्ने नोट हरेक दिनजसो प्रयोग गरेपछि ती मैला र झुत्रा हुँदै जान्छन् । जब ती नोट प्रयोगमा ल्याउनै नमिल्ने गरी केरिने, मैला, झुत्रा तथा प्रयोग गर्न नमिल्ने हुन्छन् । तब राष्ट्र बैंकले त्यस्ता नोटको संकलन शुरु गर्छ ।

राष्ट्र बैंकका अनुसार झुत्रा, मैला, च्यातिएका, केरमेट भएर प्रयोगमा ल्याउन नमिल्ने नोटहरू राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग तथा उपत्यका बाहिरका राष्ट्र बैंकका विभिन्न शाखामा जम्मा गरिँदै आएको छ । राष्ट्र बैंकले म्याद गुज्रिएका प्रयोग गर्न नमिल्ने नोटमा रातो ट्याग लगाएर सञ्चित गरिन्छ ।

यसरी गरिन्छ नष्ट :

राष्ट्र बैंकले झुत्रिएर प्रयोगमा ल्याउन नमिल्ने नोट नष्ट गर्न मुद्रा व्यवस्थापन विभाग प्रमुखको संयोजकत्वमा जलन समिति बनाएको छ । मैला तथा काम नलाग्ने नोटहरु राष्ट्र बैंकको थापाथली, नेपालगञ्ज, वीरगञ्ज, पोखरा, विराटनगर, धनगढी, जनकपुर तथा भैरहवा शाखा कार्यालयहरुमा जलाउने गरिन्छ । बैंक तथा वित्तीय संस्थाहरूबाट संकलन गरिएका विभिन्न दरका पुराना, मैला तथा झुत्रा नोटहरू पहेँलो स्टिकर लगाएर राष्ट्र बैंकको ढुकुटीमा ल्याइन्छ । त्यस्ता नोटहरुमा चल्ने र नचल्ने दुवै नोट हुन्छन् । त्यसमध्येबाट प्रयोग गर्न नमिल्ने नोटहरुलाई राष्ट्र बैंकका कर्मचारीहरुले छुट्टयाउँछन् । त्यसरी छुट्टयाइएका नोटहरुमा राष्ट्र बैंकका कर्मचारीहरुले गणना गरी २ देखि ४ वटासम्म प्वाल पार्ने गर्छन् ।

त्यसपछि सरकारको प्रतिनिधि, नेपाल राष्ट्र बैंकको विभिन्न विभागको प्रतिनिधिको रोहवरमा कानूनी प्रक्रिया पूरा गरी जलाइन्छ । राष्ट्र बैंकको सो व्यवस्था अनुसार मुद्रा व्यवस्थापन विभागले नोट जलाउने खाल्डोमा हालेर आगो लगाई नष्ट गर्ने गर्छ । ती नोट पूर्ण रुपमा नष्ट नभएसम्म त्यहाँ उपस्थित कसैले पनि सो स्थान छोड्दैनन् । राष्ट्र बैंकले जुन रुपमा पुराना नोट जलाउँदै जान्छ सोही अनुरुप नयाँ नोट पनि छाप्दै जानुपर्छ । त्यस्तै, राष्ट्र बैंकले आफ्नो ढुकुटीमा ल्याएका नयाँ नोटलाई सेतो ट्याग लगाएर बजारमा पु-याउँछ ।

राष्ट्र बैंकका अनुसार ५, १०, २०, ५०,१००, ५०० र १००० दरका नोट सटही गर्दै आएको छ । राष्ट्र बैंकले यसअघि २५ रुपैँयाको पनि नोट छापेको थियो । राष्ट्र बैंकका अनुसार यी दरका नोट छाप्दा औसतमा १ रुपैयाँ ६५ पैसा लागत पर्छ । त्यस्तै, ५०० र १००० का नोट छाप्दा प्रति नोट औसत २ रुपैयाँ ६४ पैसा लागत लाग्ने गर्छ । नयाँ नोट छाप्दा मुद्रास्फितीको दर, देशको आर्थिक वृद्धिदर, बजेटको आकार, सर्कुलेसनको ट्रेण्ड, विनिमयदरको अवस्था, विप्रेषणको प्रवाह, भुक्तानी सन्तुलन लगायत विभिन्न मापदण्डलाई हेरेर नयाँ नोट छपाई गरिन्छ ।

कति जले मैला र झुत्रा नोट ?

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हालसम्म ५ खर्ब ४३ अर्ब ३६ करोड ७४ लाख ७३ हजार ५ सय २५ रुपैयाँ पुराना तथा झुत्रा नोट जलाइसकेको छ । यो तथ्यांक आर्थिक वर्ष २०७६/७७ को हो । यस अवधिसम्म राष्ट्र बैंकले १९ करोढ ३८ लाख ८ हजार ३ सय ९ थान बन्डल नोट जलाएको हो । त्यस्तै, राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ मा ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६ सय २६ रुपैयाँ झुत्रा नोट जलाएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ४ खर्ब १७ अर्ब ८० करोड ९९ लाख ६४ हजार ५ सय १७ रुपैयाँ, आर्थिक वर्ष २०७७३/७४ मा ३ खर्ब ६१ अर्ब ४० करोड ४१ लाख ९४ हजार १ सय ७९ रुपैयाँ र आर्थिक वर्ष २०७२/७३ मा ३ खर्ब ३५ अर्ब ६४ हजार ९९ लाख ८३ हजार ६ सय ८४ रुपैयाँ नष्ट गरेको राष्ट्र बैंकले जनाएको छ ।

कति हुन्छ नोटको आयु ? 

नयाँ नोटको आयु त्यति लामो हुँदैन । नोटलाई जतन नगरी चलाउँदा कम समयमा नै प्रयोग गर्न नमिल्ने गरी मैला र झुत्रा हुने गर्छन् । त्यसकारण नोटलाई जतनपूर्वक चलाउनुपर्छ । राष्ट्र बैंकका अनुसार ५०० र १००० दरका ठूला नोटको आयु साढे तीन वर्ष अनुमान गरिएको छ । त्यस्तै, साना नोटको आयु दुईदेखि साढे दुई वर्ष हुने राष्ट्र बैंकको भनाइ छ । नोटको आयु छोटो हुने र छपाइमा महँगो पर्ने भएकाले जतनपूर्वक नोटको प्रयोग गर्न राष्ट्र बैंकले सबैलाई आग्रह गर्दै आइरहेको छ । सर्वसाधारणले जतनपूर्व नचलाएकैले पनि नोट चाँडै मैला र झुत्रा हुने गरेको राष्ट्र बैंकका अधिकारीहरुको भनाइ छ ।

कसरी गर्ने संरक्षण ?

नोट महत्वपूर्ण वस्तु हो भनेर हिफाजत गर्नु नै पहिलो संरक्षण हो भन्छन् डा. गुणाकर प्रवक्ता भट्ट । नोटलाई कच्याककुचुक बनाएर राख्न नहुने उनले बताए । विशेष गरी दशैँ, तिहार, कुनै पूजाआजा लगायतका चाडवाडमा बढी मात्रामा नोटमा रङ लाग्ने तथा पानी पर्ने भएकाले यस अवधिमा मैला र फोहोर बन्छन् । त्यसैले त्यसो नगर्न उनले आग्रह गरे । पैसा राख्दा पर्समा राम्रोसँग मिलाएर राख्नुपर्छ । नोटलाई राम्रोसँग संरक्षण गर्न नसक्दा यसले राज्यलाई हरेक वर्ष ठूलो आर्थिक नोक्सानी हुने प्रवक्ता भट्टको भनाइ छ ।

नोट संरक्षण नगर्नेलाई यस्तो छ कानूनी कारवाही ?

मुलुकी अपराध संहिता २०७४ को दफा २ सय ६३ मा नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न, लेख्ने वा कोर्न, केरमेट गर्न वर्जित गरेको छ । यस दफाको उपदफा ३ मा कसुर गर्ने व्यक्तिलाई ३ महिनासम्म कैद र ५ हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ । यही कानूनका आधारमा नोटको जतन नगर्नेलाई राष्ट्र बैंकले कारवाही गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?