राष्ट्रपतिको विरोध गर्नेहरुलाई प्रधानमन्त्रीको यस्तो जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दलिय स्वार्थका हिसाबले राष्ट्रपतिको गरिमा माथि हिलो छ्याप्न खोज्नेहरुले राष्ट्रपतिको विरोध गरेको बताएका छन् ।

आज (आइतवार) राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा सदस्यहरुको प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई प्रधानमन्त्रीले गरेको सिफारिसलाई लाहा छाप लाउने मात्र गरी सेरेमुनियल रुपमा राखेको भन्दै राष्ट्रपति प्रति पुरातनवादी सोचका मान्छेहरु र मुलुकलाई पछाडी फर्काउन चाहानेहरुले दलिय स्वार्थका हिसाबले राष्ट्रपतिको गरिमा माथि हिलो छ्याप्न खोज्नेहरुले राष्ट्रपतिको विरोध गर्ने गरेका बताएका हुन् ।

राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले ‘यहाँले महाराज घोषणा गरियोस भनेर राष्ट्रपतिकोमा पठाउनुहोला, राष्ट्रपतिले त्यो विज्ञप्ति जारी गर्नुहोला, के हामीले महाराज भनेर मान्ने ?’ भन्ने प्रश्नको उत्तर दिदैँ प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीले गरेको सिफारिस नमान्ने, आफ्नै ढंगले चल्ने राष्ट्रपति नभई सेरेमोनियल राष्ट्रपति राखेको बताए । सम्मानित संस्थाको रुपमा, संविधानको रक्षक र पालकको रुपमा, मर्यादाको रुपमा रहेर काम गर्ने राष्ट्रपति संविधानले व्यवस्था गरेको उनँको भनाई छ । उनले भने – ‘राष्ट्रपतिलाई हामिले जम्माजम्मी प्रधानमन्त्रीले गरेको सिफारिसलाई लाहा छाप लाउने मात्रै हिसाबमा एउटा सेरेमुनियल रुपमा राष्ट्रपति राखेका छौँ अनि के एक्टिभ राष्ट्रपति चाहियो हामिलाई ? प्रधानमन्त्रीले गरेको सिफारिस नमान्ने, आफ्नै ढंगले चल्ने राष्ट्रपति चाहियो हामिलाई ? महाराजधिराज जस्तो राष्ट्रपति चाहियो हामिलाई हुकुम तामेल गर्ने ? त्यस्तो राष्ट्रपति हामिले खोजेको होईन । हामिले खोजेको सम्मानीत राष्ट्रपति भनेको सेरेमोनियल राष्ट्रपति हो । जसले सम्मानित संस्थाको रुपमा, संविधानको रक्षक र पालकको रुपमा मर्यादाको रुपमा रहेर काम गर्छ, त्यस्तो राष्ट्रपति खोजेको हो । संविधान भन्दा बाहिर गएर स्वेच्छाचारी ढंगले चल्ने राष्ट्रपति अहिलेको संविधानको कुरापनि होईन । हामिले ल्याएको प्रणालीको कुरापनि होईन । हाम्रो संविधानको व्यवस्था पनि होईन । राष्ट्रपति प्रति केही पुरातनपन्थी सोचका मान्छेहरु मुलुकलाई पछाडी फर्काउन चाहाने तत्वहरु अथावा आफ्नो संकिर्ण दलिय स्वार्थका हिसाबले राष्ट्रपतिको गरिमा माथि हिलो छ्याप्न खोज्नेहरुले राष्ट्रपतिको विरोध गर्छन् । हामिले देखि भोगि आएको कुरा हो ।’

राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझिले आली नेतृत्वको सरकार संविधानको धारा ७६ को उपधारा १ अनुसार नबनेको बताए । उनले तत्कालिन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को संयुक्त सरकार धारा २ अन्र्तगत बनेको र प्रधानमन्त्रीले संसदले अर्को सरकार बनाउने सम्भावना हुँदाहुँदै किन संसद विघटन गर्नुभयो भन्ने प्रश्न गरे । जवाफमा प्रधानमन्त्री ओलीले सरकार निर्माणको बेलामा उपधारा १ अनुसार नभएपनि दुई राजनीतिक दल एकिकरणपश्चात दुई पार्टी मिलेर एउटै संसदीय दलको नेता आफु छानिइ सरकार संविधानको धारा ७६ को उपधारा १ अनुरुप परिणत भएको बताए । वर्तमान सरकार एकै दलको बहुमतको सरकार भएको र संसद विघटनको सिफारिस गर्दासम्म आफु बहुमतप्राप्त दलको संसदीय दलको नेता रहेको उनको भनाई छ ।

प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले २०१७ सालमा राजा महेन्द्रले कु गरेजस्तै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरी गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षता माथि तरबार झुण्ड्याएको बताइन् । राष्ट्रिय सभा सदस्यहरु सदन बन्द होस भन्ने पक्षमा नरहेको उनको भनाई छ । प्रधानमन्त्री ओलीलाई राष्ट्रिय सभा सदस्यहरु जितेन्द्रनारायण देव, प्रमिला कुमारी, रमेशजंग रायमाझि, प्रकाश पन्त र अनिता देवकोटाले प्रश्न गरेका थिए । प्रधानमन्त्री ओलीले आ–आफ्नो दलको चुनावको तयारीमा लाग्न सुझाव समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?