सिन्धुलीगढी युद्धमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई

RSS
0
Shares

सिन्धुली । अङ्ग्रेस फौजसँग भएको लडाइँमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आज आइतवार दुई भाले खुडा र एउटा तरबार सेनालाई बुझाइएको हो ।

विसं १८२४ मा भएको अङ्ग्रेजसँगको लडाइमा पूर्खाले प्रयोग गरेका घरेलु हतियार सङ्कलन गर्ने क्रम जारी रहेको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए। खत्रीले आज आइतवार आफ्नो घरमा भएको एउट भाले खुडा र एक थान तरबार तथा भद्रकालीमा हरि थापाको घरमा रहेको भाले खुडा ९ नम्बर बाहिनीपति धु्रव शाहलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरणपछि प्रमुख खत्रीले लडाइँका क्रममा प्रयोग भएका घरेल हतियारको खोजी गर्ने काम भइरहेको बताएका छन् । नेपाली सेनासँग सहकार्य गरेर नगरवासीका घरमा भएका पुख्यौली घरेलु हतियार सङ्कलन गर्ने र ऐतिहासिकस्थल सिन्धुलीगढीमा युद्ध सङ्ग्राहलयमा राखिने समेत उनले जानकारी दिए ।

यस्तै ९ नम्बर बाहिनीका बाहीनीपति शाहले युद्ध सङ्ग्रहालय निर्माणको काम अन्तिमचरणमा पुगेको बताए । तत्कालीन अङ्ग्रेजसँगको लडाइँका क्रममा प्रयोग भएका घरेलु हतियारको खोजी गर्ने कार्य भइरहेको उनको भनाइ छ । हालसम्म सात खुडा, खुकरी र एउटा धनुषबाण जम्मा भएको जानकारी दिए ।

अङ्ग्रेज फौजलाई हराएको सम्झनामा हरेक कात्तिक २४ गते नगरपालिकाले विजय उत्सव मनाउन थालेको छ । विसं २०६७ मा नेपाल पत्रकार महासंघ जिल्ला शाखाले ओझेलमा परेको सिन्धुलीगढीको प्रचारप्रसार गर्न विजय उत्सव मनाएको थियो । त्यसयता जिल्ला विकास समिति हुँदै हाल स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले गढीको संरक्षण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?