सप्तरी । जन्मजात दुबै खुट्टा नभएकी सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुरकी पुष्पा चौधरीको अनुहारमा बेग्लै खुशी देखिन्छ । दुबै खुट्टा नभएर सधैँ अरुको साहारमा जीवन बिताउँदै आएकी उनको अनुहारमा खुशी फर्किनुको कारण निःशुल्क ट्राई साइकल हो ।
‘‘दुबै खुट्टा नभएपछि अरुको साहारमा कष्टकर जीवन बिताइरहेको थिएँ” ३२ वर्षीया पुष्पाले भनिन्, ‘‘तर राष्ट्रिय आपाङ्गता पुर्नस्थापना समाजले निःशुल्क ट्राई साइकल दिएपछि हिँडडुल गर्न र आत्मनिर्भर बन्ने बाटो खुलेको छ ।” अब ट्राई साइकलकै साहाराले रोजगारी गर्नसक्छु भने आत्मविश्वास पलाएको उनको कथन छ ।
आर्थिक अभावका कारण सहायक सामग्री खरिद गर्न नसकेकी उनले ढिलै भए पनि ट्राई साइकल पाएपछि आफ्नो जीवनमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गरिन् । कक्षा ५ सम्मको अध्ययन गरेकी उनले भनिन्,‘‘पढ्ने रहर थियो, तर खुट्टा नहुँदा विद्यालय जान सक्ने अवस्था थिएन् त्यसैले पढाइ अधुरैमा छाड्नु पर्यो ।”
विगत एक दशकदेखि पक्षघातका कारण पीडित कञ्चनरुप नगरपालिका–१ बैरबाका ६५ वर्षीय शेख अबासको पनि जीवनमा ह्वील चेयरको साहारा बनेको छ । पक्षघातको शिकार भएर थलिएकी अबासको लागि ह्वील चेयर बरदान नै सावित भएको छ । ‘‘पक्षघात भएपछि उनलाई उठबस गर्न सक्ने अवस्था छैन्”, अबासका छोरा इब्रामले भने,‘‘ तर ह्वील चेयर पाएपछि अहिले उहाँ एक ठाउँबाट अर्को ठाउँमा सहज रुपमै घुमफिर गर्न सक्ने हुनुभएको छ ।”
पोलियो भएर दुबै खुट्टा काम नलाग्ने भएपछि कष्टकर दिन बताउँदै आएकी कञ्चनरुप–४ जगतपुरकै अनिता चौधरीको लागि पनि बाँच्ने ठूलो आधार बनेको छ, ह्वील चेयर । ‘‘खुट्टा नै नभएपछि घरमै बसाएर दिशापिसाब गराउनुपर्ने अवस्था थियो” उनकी आमा सुमित्राले भनिन्,‘‘ तर ह्वीलचेयर पाएपछि अब सहज भएको छ ।”
पुष्पा, अबास र अनिता बिगत लामो समयदेखि आपाङ्गताको रुपमा कष्टकर जीवन बिताउँदै आएका सप्तरीको कञ्चनरुपमा ५१ जना आपाङ्गता भएका व्यक्तिका लागि ट्राई साइकल, ह्वील चेयर र सेतो छडी साहार बनेको छ । कञ्चनरुप नगरपालिकाको विभिन्न वडाका आपाङ्गता भएका व्यक्तिलाई राष्ट्रिय आपाङ्गता पुर्नस्थापना समाजले ह्वील चेयर, ट्राईसाइकललगायतका सहायक सामग्री वितरण गरेको छ ।
कञ्चनरुपको सामाजिक विकास शाखा र सामाजिक अभियन्ता चन्द्रकिशोर कल्याणको समन्वयमा राष्ट्रिय आपाङ्गता पुर्नस्थापना समाजले कञ्चनरुपको विभिन्न वडाका ५१ जना आपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरेको हो ।
नगरको ५१ आपाङ्गता भएका व्यक्तिलाई १९ थान ह्वील चेयर, १० ट्राई साइक, १० जोडी वैशाखी, पाँच सेतो छडी, दुई वाकर र पाँच एल्बो वैशाखी वितरण गरेको राष्ट्रिय आपाङ्ग पुर्नस्थापना समाजका उपाध्यक्ष सुगम भट्टराईले जानकारी दिए ।
देशका ७७ जिल्लाका आपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गर्ने लक्ष्यका साथ अभियान शुरु गरेको र हालसम्म ६५ जिल्लाका आपाङ्गता व्यक्तिलाई ह्वील चेयर, ट्राईसाइकल वितरण गरिसकेको उनले बताए । नगरपालिका कार्यालय परिसरमा आयोजित सहायक सामग्री वितरण कार्यक्रममा नगरप्रमुख वसन्तकुमार मिश्र, उपप्रमुख निरु पोखरेल, प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाले आपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री प्रदान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया