म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याममा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । साविक दरवाङ गाविसको ७, ८ र ९ वडामा पर्ने दिच्यामको सबै बस्तीमा केन्द्रीय विद्युत् विस्तार भएको हो । यसअघि साविक ९ नं वडाको बस्तीमा बलेको बिजुली वडा नं ८ को बस्तीमा पनि विस्तार गरिएको वडा सदस्य कर्णबहादुर रोकाले बताए ।
साविकको वडा नं ७ को बस्तीमा एक वर्षअघि नै बिजुली बलेको थियो । बाँकी ७९ घरमा पनि विद्युतीकरण भएपछि दिच्यामका सबै बस्तीमा बिजुली बलेको वडा सदस्य रोकाले बताए । नेपाल विद्युत् प्राधिकरणको योजनाअनुसार विद्युतीकरण भएको हो । दिच्याममा विद्युत् विस्तार गर्न दुई ट्रान्सफर्मर राखिएको छ । दरवाङबाट गोगनपानी हुँदै दिच्याम विद्युत् लाइन विस्तार गरिएको हो । यसअघि दिच्यामका बासिन्दाले उज्यालोका लागि सोलार, पेल्ट्रिक सेट र टुकी बाल्ने गरेका थिए ।
विद्युत् सुविधासँगै स्थानीयवासीको दैनिकीमा सुधार आउने र जनजीवन सहज बन्ने अपेक्षा गरिएको दिच्यामको भगवती आधारभूत विद्यालयका प्रअ जगत खत्रीले बताए । विद्युत् सुविधा भएपछि टेलिभिजन हेर्न, मोबाइल चार्ज गर्न, इन्टरनेट चलाउन, घरायसी काम गर्न, विद्यार्थीलाई पढ्न सहज भएको छ । कम्प्युटर, ल्यापटप चलाउन सजिलो भएको छ । सूचना प्रविधिमा पनि पहुँच बढेको छ । दाउराको विकल्पमा राइसकुकरमा खाना पकाउने सुविधा भएको छ । धुवाँबाट बच्ने र समयको बचत भएको छ । बिजुलीको झिलीमिल भएपछि दिच्यामवासीमा खुशीयाली छाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया