पाइलट आमाछोरीको ‘भाइरल’ जोडी जसलाई देखेर यात्रुहरु तस्वीर नखिचाइ मान्दै मान्दैनन्

सोच्नुहोस् त- यो संसारमा आमा र उनको सन्तानको सम्बन्ध कति महत्वपूर्ण छ ?

त्यसमाथि आमा र छोरीका धेरै कुराहरु मेल खाने भएकाले उनीहरु एक अर्काका मिल्ने साथी पनि हुन्छन् । एकाध उदाहरणलाई छोडेर अधिकांश छोरी आफ्नो जीवनको निजी मामिलाहरु समेत निर्धक्क आमासँग सेयर गर्न रुचाउँछिन् । तर, पढेलेखेर जब छोरीले पखेटा हाल्छिन् या पढाइ वा रोजगारीका लागि विदेश पुग्छिन् अथवा वैवाहिक जीवनमा बाँधिन्छिन् उनी जन्मघरलाई पराई बनाउन बाध्य हुन्छिन् । आमा र छोरीबीचको त्यो सामीप्यता अन्तै बाँडिन्छ ।

तर आज हामी तपाईलाई आमाछोरीको एउटा यस्तो लोभलाग्दो जोडीको बारेमा बताउन गइरहेका छौं जसले तपाईलाई आफूले गरिरहेको काममा अझ उर्जा थपिदिनेछ ।
डोना २६ वर्षकी भइन् । उनकी आमा सुजी ग्यारेट आकाशमा आफ्नो बाटो बनाउँदै अमेरिकाको क्षेत्रीय स्काइवेस्टको पहिलो महिला पाइलट बनिन् ।

जब डोना ठूली भईन् तब मात्र उनले आफ्नी आमाको उपलब्धिहरुमा ध्यान दिन थालिन् । आफ्ना अभिभावकलाई विश्व भ्रमण गर्दा निकै खुसी भएको देखेर उनी प्रभावित भइन् । र, आफू पनि पाइलट बन्ने निर्णय गरिन् । उनकी आमा सुजीले छोरीको यो ईच्छालाई एकपटक पनि नाईनास्ती नगरीकन अनुमति दिइन् ।

परिणामस्वरुप सन् २०१९ को सेप्टेम्बरमा डोना आफ्नी आमासँग स्काइवेस्टको पहिलो आमा–छोरी चालक दलमा सहभागी हुन पाइन् ।
उनीहरु विगत एकवर्षदेखि सँगै काम गर्दै आएका छन् । कोरोना महामारीका कारण जब मानिसहरुलाई फुर्सद भयो त्यसपछि यो आमाछोरीको जोडी केही हप्तामा निकै भाइरल भए । यी आमाछोरीको तस्वीरले सोही विमानमा यात्रारत यात्रुहरुसमेत चित खाए । उनीहरु यतिविघ्न उत्साहित भए कि यी आमाछोरीसँग तस्वीर नखिचाइ उनीहरु टर्मिनल भवनतिर गएनन् । सबैले उनीहरुको हिम्मत र सपनाको खुब प्रशंसा गरे ।

पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको उनीहरुको तस्वीरमा दुवैजना काकपिटमा बसेर मुस्कुराइरहेका छन् । सुजी भन्छिन्, – ‘त्यो निकै महत्वपुर्ण क्षण थियो ।’
लस एन्जलसमा आफ्नो बाल्यकाल बिताउँदै गर्दा डोनालाई आफ्नी आमा वायुसेवाको पाइलट भएको कुरा आश्चर्यजनक लाग्दैनथ्यो । किनभने उनका पिताको पनि सोही पेशा थियो र उनलाई विमानमा क्याप्टेन हुनु सामान्य कुरा जस्तै लाग्थ्यो । सुजी आफ्नी छोरीसँग स्काइ वेस्टसँग जोडिएको ३० वर्ष पूरा भएको खुसियाली मनाइरहेकी थिइन् ।

‘सबैको रियाक्सनले निकै खुसी बनाएको छ जुन अहिलेसम्मको अनुभवमा सबैभन्दा रमाइलो क्षण हो,’ सुजी भन्छिन्, ‘मलाई अचम्म लागेको छ – किनभने मैले मेरो विवाहपछि कुनै तस्वीर लिने मौका पाएकी थिइन तर अहिले उक्त तस्वीर भाइरल भएको छ । आजभोलि फ्लाइटका यात्रुहरु, बाटोमा भेटिने मानिसहरु तथा फ्लाइट एटेन्डेन्ट समेत हामीसँग तस्वीर खिच्न आउँछन् । यस्ता क्षणहरुले हाम्रा दिन झन् रमाइलो बनाएका छन् र सबैको सहयोगले थप हौसला मिलेको छ ।”

यस आमा छोरीको जोडीले सन् २०२० मा राम्रो अनुभव सँगाल्न पाउने आशा गरेका थिए तर कोरोना महामारीले उनीहरुको इच्छा पूरा हुनसकेको छैन । अहिले सुजी लस एन्जलसमा छिन् भने डोना सिकागोमा । परिवारका अन्य सदस्यहरु जस्तै उनीहरुले पनि यस वर्ष एक अर्कासँग समय बिताउन पाएका छैनन् ।

उनीहरुले फ्लाइट डेकमा बसेर खिचेको आमाछोरीको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका थिए र उक्त तस्वीर महिला पाइलट बन्ने क्रममा पार गरेको कठिन यात्राको प्रतीकको रुपमा रहेको बताएका छन् । उनीहरु यसैकारण पनि आफ्नो तस्वीर विश्वमा भाइरल भएको बताउँछन् ।

जहाजको झ्यालबाट सुर्यास्त देखेर मोहित भएकी थिईन् सुजी :

सुजी ग्यारेटले सन् १९८९ देखि स्काइवेस्टमा काम गर्न शुरु गरेकी थिइन् । एरिजोनादेखि लस एन्जलससम्मको आफ्नो दोश्रो हवाईयात्राका क्रममा उनी यस पेशाप्रति आकर्षित भइन् । त्यसताका उनी आठ कक्षामा अध्ययनरत थिइन् । जब उनले क्याबिनको झ्यालबाट सुर्यास्त देखिन् तब उनी यति मोहित भइन् कि त्यही क्षण पाइलट बन्ने निर्णय लिइन् । तर उनको लक्ष्यसम्म पुग्ने बाटो सहज थिएन । उनी भन्छिन्, ‘त्यस समयमा महिलाहरु पाइलट बन्दैन थिए तर सेनामा भने केही महिला भर्ती भएका थिए ।’ सुजी सम्झन्छिन्, ‘तर सेनामा जान मेरो उचाइ पुगेन, म केवल पाँच फुट एक इन्चकी छु ।’

उनले आफ्नो लक्ष्य हरहालमा पूरा गर्ने निर्णय गरिन् र क्यालिफोर्नियास्थित माउन्ट सान एन्टोनियो एभिएसन स्कुलमा भर्ना भइन् । स्काइवेस्टमा काम गर्नुभन्दा पहिला उनले फ्लाइट प्रशिक्षकको रुपमा काम गरेकी थिइन् ।

स्काइवेस्टको करियरमा उनले, फियरचाइल्ड स्वेरिंगगेन मेट्रोलाइनर टर्बोप्रप्स, द इमब्राइर १२० ब्रासिलिया र अहिले बोम्बार्डर सिआरजे २००, सिआरजे ७०० र सिआरजे ९०० नेक्स्ट जेन उडाएकी छिन् । करिब ३० वर्ष पहिला अमेरिकाको एभिएसन पूरै गोरा जातिका पुरुषहरुको नियन्त्रणमा थियो तर अहिले परिवर्तन आएको छ । यसैपनि त्यहाँ काला र गोराजातिको बाँच्न पाउने अधिकारलाई लिएर वकालत भइरहेको छ ।

अमेरिकी ब्यूरो अफ लेबर स्टाटिस्टिक फिगरको अनुसार, ९२.५ प्रतिशत पाइलट पुरुष छन् भने ९३.७ प्रतिशत पाइलट गोरा जातिका रहेका छन् । फ्लाई फर द कल्चर र सिस्टर अफ स्काइज लगायतका संस्थाहरुले काला जातिका पाइलटहरुलाई छात्रवृत्ति दिने, उनीहरुको सहभागिता बढाउन प्रशिक्षकहरु उपलब्ध गराउने जस्तो सुविधा दिएका छन् ।

सुजीका अनुसार उनले कुनै कठिनाइको सामना गर्नु परेको छैन र ककपिटमा पनि कुनै भेदभाव छैन । भन्छिन्, ‘यहाँ पुरुषलाई जस्तै महिलालाई पनि समान अवसर प्रदान गरिएको छ ।’ तर यात्रु तथा टर्मिनलमा मानिसले दिएको प्रतिक्रिया देखि भने आफू दुखी भएको बताउँछिन् ।

बुबासँग डोना : 
‘जब यात्रुहरुले एक महिला पाइलटले विमान अवतरण गरेको देख्छन् तब छुट्टै प्रतिक्रिया दिने गर्दछन्,’ उनी आफ्नो अनुभव सुनाउँछिन् ।
उड्डयन क्षेत्रमा विविधताको कमी भएको तर, आफू पाइलटको रुपमा काम गर्न थालेपछि मानिसहरुको व्यवहारमा केही परिवर्तन आएको बताउँछिन् उनी । उनले थुप्रै महिलालाई यस पेशामा लाग्न प्रेरित गरेकी छिन् ।

उनी भन्छिन्, ‘मैले मेरी छोरीलाई प्रेरित गर्न सफल भएको छु र यो मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हो ।’ डोनाले आफ्नो बुबाको सहायताले कलेजको समयदेखि नै प्लेन उडाउन सिकेकी छिन् । डोना भन्छिन्, ‘मलाई उड्न निकै मन पर्छ ।’

उनले दक्षिण क्यालिफोर्नियाको दुईवटा फ्लाइट स्कुलमा अध्ययन गरेकी छिन् र आफ्नो प्रशिक्षण मिचिगनबाट पूरा गेरकी हुन् ।
पहिला सिनिक एयरलाईन्स जस्तो सानो कम्पनीबाट शुरुवात गरकी उनले ग्रान्ड क्याननको एरियल टुर गराउने काम गर्थिन् । पछि सन् २०१९ को अप्रिलमा उनी स्काइवेस्टमा आवद्ध भइन् ।

डोना भन्छिन्, ‘मेरी आमा यस क्षेत्रमा कति दक्ष हुनुहुन्छ भनेर वास्तवमा मलाई भर्खरै मात्र थाहा भयो । मैले उहाँको यस भूमिकालाई नजिक बाट देखेकी छु तर ठूलो नहुन्जेलसम्म उहाँको काम कति प्रभावकारी छ भन्ने थाहा पाइन ।’

उनीहरु दुवैजनाले अन्य महिलालाई पाइलट पेशामा लाग्न र प्रशिक्षण लिन प्रेरित गर्दछन् । डोना भन्छिन्, ‘ककपिटमा महिला पाइलट देख्दा निकै गर्व हुन्छ र यसले अन्य महिलालाई पनि प्रेरित गर्दछ जुन कुरा उनीहरुले पहिला सम्भव हुन्छ भन्ने सोचेका थिएनन् ।’

डोना र सुजी दुवैजना सँगै उडान भर्न उत्साहित हुन्छन् । सन् २०१६ सेप्टेम्बर ४ देखि ५ सम्म आमा–छोरीको जोडीले सिआरजे ७०० लाई लस एन्जलस, क्यालिफोर्निया, सान् डिएगो, फ्रेस्नो, र साल्ट लेक सिटि, उटामा उडाएका छन् ।

‘मैले कहिले पनि यति धेरै अनुभव भएको क्याप्टेनसँग उड्ने मौका पाएको थिइन’ डोना भन्छिन्, ‘र त्यो पनि मेरी आमा, हाम्रो सञ्चार गर्ने तरिका र काम गर्ने शैली निकै मिलेको छ ।’ सुजी भन्छिन्, ‘आफ्नी छोरीलाई आफूसँगै को–पाइलटको रुपमा देख्न पाउँदा गर्व हुन्छ, उनले निकै रामो काम गरिरहेकी छिन् ।’

उनीहरु दुवैजना अर्को पटक परिवारका अर्का सदस्य ककपिटमा हुने सपना देख्दैछन् । जो हुन् सुजीका सुपुत्र अर्थात् डोनाका भाइ । उनी हालै एक प्रशिक्षित पाइलट बनेका छन् र स्काइवेस्टमा काम गर्ने तयारीमा छन् ।

सुजी भन्छिन्, ‘मलाई डोना पाइलट भएको र मेरो छोरा फस्ट अफिसर भएको हेर्न मन छ र म चाँहि उनीहरुको यात्रुको रुपमा बस्नेछु, यो निकै रमाइलो हुनेछ ।’
ऋामाको भनाइमा डोना थप्छिन्, ‘यदि यसो भयो भने मेरो सपना पूरा हुनेछ ।’

डोनाको भाइको यस वर्ष स्काइवेस्टमा आवद्ध हुने तयारी चल्दै थियो तर महामारीका कारण उनीहरुको सपना स्थगित भयो । सुजी भन्छिन्, ‘यही कारणले थोरै संघर्ष गर्नुपरेको छ र कोरोना महामारीको कारण पूरै एभियसन उद्योग ठप्प छ ।’

उनीहरु दुवैजना उद्योग पुनः सञ्चालन हुने पर्खाइमा छन् र एयरलाइन्सले पुनः काममा राख्ने आशा गर्दै छन् । तर उनीहरु महामारीले नयाँ पाइलटहरुलाई भने नरोक्ने बताउँछन् ।

सुजी भन्छिन्, ‘यस उद्योगमा थुप्रै तलमाथि हुन्छ तर सबै अस्थाई हुन्छ, जब हामी काममा फर्किनेछौँ तब थुप्रै मानिसले यसको लाभ उठाउने छन् ।’ डोना अहिले एभिएसन उद्योगमा राम्रो प्रशिक्षक हुनुपर्ने कुरामा जोड दिन्छिन् । उनी भन्छिन्, ‘यदि संघर्षको क्रममा कुनै साथी वा प्रशिक्षकले सहयोग गरे भने पूरै यात्रा सहज हुनेछ ।’

(डेलीमेलबाट अनुवाद गरिएको)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?