सुनचाँदी व्यवसायीले नै नक्कली सुन नचिनेपछि…

काठमाडौँ- सुनचाँदी व्यवासायीलाई ठगी गरेको अभियोगमा धादिङको थाक्रे गाँउपालिका वडा नं. ११ घर भई हाल ललितपुरको गोदावरी बस्ने ३४ वर्षीय राज सापकोटा (सुनार) पक्राउ परेका छन् ।

उनलाई महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त टोलीले  पक्राउ गरेको हो । उनको साथबाट सुनको जस्तो देखिने ब्रास्लेट, सुनको जस्तो देखिने सिक्री र उक्त गहनाको बिलहरू समेत बरामद गरीएको महाशाखाले जनाएको छ ।

उनले चन्द्रागिरी नगरपालिका ७ थानकोट चेकपोष्ट स्थित सुनचाँदी गहना पसलमा विल सहित सुन जस्तो देखिने ब्रास्लेट लिएर गई  बन्दकी राखी नगद एक लाख ८० हजार ठगी गरी फरार भएका थिए । यसैगरी चन्द्रागिरि नगरपालिका १२ गुर्जुधारास्थित सुन चाँदी गहना पसलमा पनि उनले त्यसैगरी दुई लाख ८० हजार ठगेको खुलेको छ ।

प्रहरीले अभियुक्तले अन्य व्यक्ति तथा व्यवसायीहरूलाई समेत ठगी गरेको हुन सक्ने भएको भन्दै निज उपर मुलुकी अपराध संहिता २०७४ बमोजिम अनुसन्धान भैरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?