काठमाडौं । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा पनि राष्ट्रिय सभा सदस्यहरु प्रतिनिधि सभा विघटनको पक्ष र विपक्षमा बाडिएका छन् । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधी सभा विघटन गरी नयाँ चुनाव मिति घोषणा गर्नु प्रतिपक्षीको लागि राम्रो हुनुपर्ने बताए । प्रमुख प्रतिपक्षी लगायतले जनतामा जान खुट्टा कमाएको उनको भनाई छ । संवैधानिक इजलाशमा गएपछि यो विषय संवैधानिक भएको उनले टिप्पणी गरे । प्रतिनिधि सभा विघटन प्रतिगमन नभएको उनको जिकिर छ ।
राष्ट्रिय सभा सदस्य दिल कुमारी रावल थापा(पार्वती)ले सरकारलाई पार्टी भित्र, संसदीय दल, संसदीय समितिहरुबाटै काम गर्न रोक्ने प्रयास भएको बताइन् । पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई अभियोगपत्र दर्ता गराउनु लगायतको कामले यस्तो अवस्था आएको उनको तर्क छ । जनताको बिचमा जाने कुरा प्रजातन्त्रको मुल्य, मान्यता र आदेश भएको उनले बताइन् । सडकमा जानुभन्दा जनताको बिचमा जानु नै ठिक भएको उनले टिप्पणी गरिन् ।
राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्माले प्रधानमन्त्रीको तीन वर्षे कार्यकालमा बजेट ल्याउँदा, नीति कार्यक्रम ल्याउँदा कतै बाधा व्यवधान नगरिएको बताए । सरकारलाई काम गर्न नदिएको भन्नेकुरा तथ्यले कतैपनि प्रमाणित नगर्ने उनको भनाई छ । प्रधानमन्त्रीले असंवैधानिक तथा प्रतिगामी कदम चालेको उनले बताए ।
राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंहले सरकारले असंवैधानिक, अलोकतान्त्रिक ढंगले प्रतिनिधि सभा विघटन गरेकोमा आपत्ति तथा विरोध रहेको बताए ।
राष्ट्रिय सभा सदस्य विमला घिमिरले कानुनी सर्वोच्चताको ख्याल नगरी सर्वोच्च अदालतमा रहेको संसद विघटनको विषयमा सडकमा नारा लगाउनु जायज नभएको बताइन् । सरकारले गरेको कामको अपव्याख्या भएको उनको भनाई छ ।
राष्ट्रिय सभा सदस्य कोमल वलीले राज्यका सबै अंगहरुमाथि अनावश्यक शका गरिएको बताइन् । सरकार, संसद, अदालत, निर्वाचन आयोगमाथि शंका गर्नेहरुले नै सरकारलाई सर्वसत्तावादी भनेको उनले बताइन् । संविधानको व्याख्या गर्ने जिम्मा अदालतलाई दिएकाले अदालतको निर्णय स्वीकार गर्ने उनको भनाई छ ।
राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले सर्वोच्च अदालतलाई प्रभावित हुनेगरी प्रस्तुत हुन जरुरी नरहेको बताइन् । सर्वोच्च अदालतले यसको निरुपण गर्ने सम्बन्धमा गरेको फैसला आत्मसात् गर्ने उनको भनाई छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पौष ५ गते प्रतिनिधि सभाको विघटन गरेसँगै राजनीतिको मुख्य केन्द्रमा यही विषय परेको छ । पौष १७ गतेदेखि प्रारम्भ भएको राष्ट्रिय सभाको यस अधिवेशनमा पनि हरेक बैठकमा प्रधानमन्त्रीको कदमको पक्ष र विपक्षमा राष्ट्रिय सभा सदस्यहरु उभिएका छन् । शुक्रवारको बैठकमा पनि राष्ट्रिय सभा सदस्यहरु प्रतिनिधि सभा विघटनको पक्ष र विपक्षमा उभिदै आफ्नो धारणा राखेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया