रामनारायण बिडारीको प्रश्न : २०४७ सालको संविधान हेरेर संसद विघटन गर्ने ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको संविधानमा हुँदै नभएको व्यवस्था ल्याएर संसद विघटन गरेको भन्दै आपत्ती जनाएका छन् ।

नेपालको संविधान २०७२ मा प्रधानमन्त्रीले कुनै पनि हालतमा संसद विघटन गर्न सक्ने अधिकार नभएको भन्दै संविधानको धारा ७६ र १०० लाई ब्याख्या गरेका छन् ।

बिहीवार बसेको राष्ट्रिय सभाको ७ औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले २०४७ सालको संविधानको आधारमा संसद विघटन गर्न मिल्छ भन्दै प्रश्न गरे । “२०४७ सालको संविधान हेरेर संसद विघटन गर्ने ?” उनले भने ।

त्यस्तै उनले संविधानमा प्रधानमन्त्रीलाई आफ्नो सनकमा कहाँ संसद विघटन गर्न मिल्छ भन्दै प्रश्न गरेका छन् । उनले भने, “संविधान मस्यौदा गर्दा १५ जनाको कार्यदल बनाइएको थियो म पनि थिएँ । कृष्ण सिटौला सुवासचन्द्र नेम्वाङ र केपी शर्मा ओली थिए । त्यो बेलाको टेप रेकर्ड सुनाईयोस् । अनि बल्ल थाहा हुन्छ हामी कति लाजमर्दो काम गरेका रहेछौँ ।”

संसद विघटन प्रकरणले नेपाल आमाको मन रोइरहेको भन्दै बचाउँनलाई गुहार गुहार भन्दै विरोध जनाए ।

त्यस्तै हरेक क्षेत्रमा सबै दलालै दलालको दवदवा भइरहेको आरोप राष्ट्रिय सभा सदस्य बिडारीको रहेको छ ।

संसद विघटनपछि नेकपा विभाजन भएको प्रसंगलाई कोट्याँउदै पार्टीभित्रका केही मानिसहरु कहिले पार्टी फुट्ला र भाउ पाउँला भनेर बसेको टिप्पणी गरे । “कहिले पार्टी फुट्ला र भाग पाउँला भन्ने आशमा छन् छट्टुहरु ।” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?