बागलुङ । पर्वत जिल्ला अस्पतालको छेउमा अन्दाजी ७० वर्षीया वृद्धा धेरै दिनदेखि बेवारिस अवस्थामा थिइन्। दैनिक सयौँ मानिस सोही बाटो भएर आवत जावत गर्दथे । कसैले उनले खाए-नखाएको वास्ता पनि गर्दैनथे । रातको समयमा निर्माणाधीन अस्पतालको एक स्टोर कोठामा बस्थिन् । अस्पतालका केही कर्मचारीले खान पनि दिएका थिए । उनी को थिए, किन यति लामो समयदेखि अलपत्र छिन् भन्ने कसैले बुझेनन् । न त उनको दिगो पुर्नस्थापनाका लागि कसैले पहल गरे ।
मानव सेवा आश्रमले यही पुस ७ गतेदेखि देशव्यापी अभियान चलाएको छ । मेची–महाकाली अभियान जनाउँदै देशभर सडक मानवरहित बनाउने अभियान गरेपछि यो अभियानबारे बागलुङमा पनि कार्यक्रम हुने जानकारी भयो । उक्त कार्यक्रमका लागि आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीसहित ४० जनाको टोलीले देश भ्रमण गरिरहेको छ ।
सस्थाले बुधवार खर्च सार्वजनिकीकरण र अभियानको जानकारी दिने कार्यक्रम बनाएको थियो । कार्यक्रम चलिरहेकै बेला कुश्मास्थित व्यावसायिक तथा सीप विकास तालिम केन्द्रमा कार्यरत बिना शर्मा बरालले फोन गरेर बूढीआमाका बारेमा सूचना दिइन् । यतिबेला पनि ती वृद्धा अलपत्र अवस्थामा थिइन् । उनको सहारा दिने कोही थिएन । उक्त सूचना पाएलगत्तै बागलुङका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले पर्वतका प्रहरी नायब उपरीक्षकलाई फोन गरेर अस्पताल ढोकामा रहेकी महिलालाई उद्धार टोली नआउञ्जेल अस्पताल परिसरमै राख्न आग्रह गरे ।
बागलुङस्थित आश्रमको काम सकेर टोली पर्वत प्रस्थान गर्यो । दिउँसो ४ बजे अस्पतालमा पुग्दा ती वृद्धा भुइँमा लुटपुटिँदै थिइन् । अधिकारीसहितको टोलीले उनलाई भेटेर आमा भनेर बोलाए । उनले बोलिन् र भोक लागेको बताइन् । आश्रमका सदस्यले तत्काल खानेकुरा ल्याएर खुवाए । यो अभियानमा शिव खड्का, सुवास केसी, सुनिता श्रेष्ठ, राजेश पौडेललगायतको टोली सक्रिय थिए । आश्रमकै स्वास्थ्यकर्मीको टोलीले वृद्धाको सामान्य स्वास्थ्य परीक्षण गरे । त्यसपछि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीलाई खबर गरे । चिसोले उनका हातखुट्टा सुनिएका थिए । उठेर सहजै हिँड्न सक्दैन थिन् । पहाडी एकैछिनमा आए । उनको रोहबरमा आश्रमका टोलीले वृद्धालाई बागलुङ ल्याएका छन् ।
वृद्धा धेरै दिनदेखि पानी, खानेकुरालगायतको भोको भएको जस्तो देखिएको अधिकारीले बताए। अस्पतालका कर्मचारीले खान दिएको बताए पनि वृद्धाले भोको हुँदा देखाएको व्यवहारले पनि प्रष्ट भएको उद्धार टोलीले बताएको छ । उनलाई आश्रममा ल्याएर सरसफाइ र न्यानो कपडा लगाइदिएको सञ्चालिका सुमिरा लामाले जानकारी दिइन् । आश्रममा राखेर उनलाई सामाजिक मनोविमर्शसमेत गराइनेछ । उनले अहिलेसम्म नाम, घरठेगानासमेत बताएकी छैनन् । मनोविमर्शबाट जानकारीमा आए पनि नआए पनि आश्रमले संरक्षण दिएर राख्ने योजना बनाएको छ । बागलुङस्थित आश्रममा अहिले पनि ४२ सहयोगापेक्षी छन् । बुधवार मात्रै बागलुङबाट चार र पर्वतबाट महिला समेत गरी पाँच जनाको उद्धार भएको हो । देशभरको अभियानमा भने झण्डै डेढसय जनाको उद्धार भइसकेको बताइएको छ ।
आगामी विसं २०७८ को अन्तिम समयसम्म नेपाललाई नै सडक मानवरहित बनाएर सभ्य देशको परिचय दिने अभियानमा आश्रमले अगुवाइ गरेको अधिकारीको भनाइ छ । बुधवार बागलुङमा आयोजित एक कार्यक्रममा उनले देशलाई सभ्य बनाएर अन्तर्राष्ट्रियरूपमा समेत चिनाउने योजना सुनाएका थिए । चार वर्षअघि बागलुङमा अध्यक्ष अधिकारीकै उपस्थितिमा आश्रम स्थापना भएको थियो । त्यतिबेला बागलुङको सडकमा पनि धेरे अलपत्र मानिस देखिन्थे । उनीहरुमध्ये कतिपयलाई संरक्षण गर्दागर्दै परिवारको सम्पर्कमा पुर्याएर पारिवारिक पुर्नमिलन पनि गराइएको छ ।
चालु आवमा मात्रै आश्रमले ३० जनाको उद्धार गरेको रेकर्ड छ । तीमध्ये चार जना पुर्नमिलन भएका छन् । एक जनाको मृत्यु भएको छ । आठ जनाले स्वेच्छिकरूपमा आश्रम छाडेका छन् भने एक जनालाई अर्कै आश्रममा स्थानान्तरण गरिएको हो । यस अभियानलाई जिल्लाका प्रशासक, सामाजिक अभियानकर्मी युवा, रोक्ट्रयाक्ट क्लबलगायतका अन्य सङ्घसंस्थाले पनि सघाएका छन् । आश्रममा रहेका सहयोगापेक्षी मानिसलाई जिल्लाका धेरै सङ्घसंस्थाले आफ्नो स्थापना दिवसमा सहयोग गर्छन् । त्यस्तै कतिपयले जन्मदिनको खर्च आश्रममा ल्याएर सहयोग गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया