मुख्यमन्त्री पोखरेलको नजरमा प्रतिनिधिसभा विघटन हुनुको ६ कारण

काठमाडौँ–  प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधिसभा विघटन विभिन्न कारणले हुन पुगेको भन्दै आधा दर्जन बढी दलिल पेश गरेका छन् ।

नेकपाको झण्डै दुई तिहाइको उपस्थिति रहेको प्रतिनिधि सभाले आफ्नो सान्दर्भिकता कसरी गुमायो ? भन्ने प्रश्न गर्दै उनले प्रतिनिधिसभा विघटनका कारणहरु खुलाएका हुन् । सरकारको विजनेस सभामुखवाट अवान्छित रुपमा लामो समय रोकेर राख्नाले, सरकारवाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक्षकै समितिका सभापति र सांसदहरुको असहयोग रहनाले, विधेयका सन्दर्भमा संसदीय समितिले गरेको निर्णयमा विभागीय मन्त्रीले नै असहमति गरेकाले संसद विघटन हुन पुगेको उनको तर्क छ ।

यसैगरी सत्तापक्षका प्रतिनिधिसभाका सदस्यहरु दलीय अनुशासन भन्दा वाहिर गएर प्रतिनिधिसभामा प्रस्तुत हुनाले, पार्टी र संसदीय दलको निर्णय वेगर विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा समावेदन दर्ता गर्न जानुले, पार्टी र दलमा औपचारिक प्रस्ताव समेत नराखी प्रधानमन्त्रीका विरुद्धमा अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन गरिनाले पनि यस्तो अवस्था आएको उनको भनाइ छ ।

यस्तै पार्टी एकता भएको लामो समयसम्म पनि पूर्व समूहका संसदीय दललाई एकीकृत गर्न तयार नहुनुका साथै पार्टी भित्रको अन्तरद्वन्द्व र प्रथम अध्यक्षका विरुद्धको गम्भीर षडयन्त्रका साथै प्रतिनिधिसभामा सत्तापक्षको यो हविगत पनि प्रतिनिधिसभा विघटनको आधार तथा कारण वन्न पुगेको उनको दावी छ ।

प्रतिनिधिसभा विघटनका लागि प्रधानमन्त्रीलाई औला देखाउनेहरुले यसबीचमा आफुहरुले खेलेको भूमिकाबारे आत्मसमीक्षा गर्न पनि उनले सुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?