साहसिक पर्यटन गन्तव्य सहस्रधारा

RSS
0
Shares

बागलुङ । सहस्रधारा झरनालाई साहसिक पर्यटन गन्तव्यका रुपमा विकास गरिने भएको छ । गलकोट नगरपालिका–३ हटियास्थित झरनामा छाँगावरोहण (क्यानोनिङ) खेलको प्रचुर सम्भावना छ । क्यानोनिङलाई दिगो र व्यावसायिक बनाउन पूर्वाधार निर्माणको कामलाई गति दिइएको छ । बर्षेनी लगानी पनि थपिँदै छ ।

विसं २०७४ फागुनमा साहसिक खेल क्यानोनिङको सफल परीक्षणपछि उक्त झरनामा गत वर्ष असारमा पहिलो पटक व्यावसायिक रुपमा क्यानोनिङ खेलाइएको थियो । क्यानोनिङ आयोजनापछि झरनाको चर्चा एकाएक चुलिएको थियो । आफैँमा पर्यटकीय आकर्षण बोकेको झरना क्यानोनिङबाट थप चिनियो ।

तीन वर्षअघि सम्म यसै गुमनाम रहेको झरनालाई गन्तव्यस्थलका रुपमा विकास गर्न जनप्रतिनिधि र स्थानीयवासी जुर्मुराएका छन् । पछिल्ला दुई वर्षमा गलकोट नगरपालिकाले १२ लाख झरनामा लगानी गरेको छ । उक्त बजेटबाट पदमार्ग, पोखरी, विश्रामस्थल, बगैँचालगायत संरचना बनाइएको छ ।

गत वर्षको चार लाख बजेटबाट ‘क्यानोनिङ’ मा चाहिने ‘हार्नेस’, ‘हेल्मेट’, ‘ज्याकेट’, डोरी (रोप) जस्ता सामग्री तथा उपकरण खरीद गरिएको वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिए । “स्थानीय युवालाई क्यानोनिङको तालीम दिने योजना पनि थियो । कोरोनाका कारण पछाडि सर्‍यो”, उनले भने । ढाडाको पाखा सामुदायिक वनमा पर्ने सहस्रधारा क्षेत्रमा गण्डकी प्रदेश सरकारको ‘शहरी वन प्रवर्द्र्धन तथा उद्यान पार्क’ कार्यक्रमअन्तर्गत गत वर्ष १२ लाख बजेटबाट उद्यान, पोखरी निर्माण, वृक्षरोपणलगायत काम गरिएको थियो ।

चालू आवमा पनि पूर्वाधार निर्माणका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत १० लाख बजेट छुट्टिएको छ । केही साताअघि झरनाको स्थलगत अवलोकनमा आएका मन्त्री विकास लम्सालले सहस्रधारा क्यानोनिङका लागि गण्डकी प्रदेशमै उत्कृष्ट गन्तव्य बन्न सक्ने भन्दै प्रदेश सरकारले यथोचित सहयोग गर्ने बताएका थिए। “मन्त्रीले झरनामा आवश्यक पूर्वाधार निर्माणका लागि आउँदो आवमा ३० देखि ५० लाखसम्मको बजेट प्रदेश सरकारबाट उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ”, वडाध्यक्ष भण्डारीले भने ।

नगरपालिका र वडाले पनि पूर्वाधारमा थप लगानी गरिने जनाएका छन् । सहस्रधारामा राष्ट्रियस्तरको क्यानोनिङ प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकूद परिषद् र नेपाल क्यानोनिङ सङ्घसँग आवश्यक समन्वय र पहल भइरहेको वडाध्यक्ष भण्डारीको भनाइ छ । सहस्रधारालाई साहसिक खेल गन्तव्यका रुपमा विकास गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) मार्फत काम भइरहेको क्यानोनिङ प्रवर्द्धन केन्द्रका सचिव गुञ्जबहादुर खत्रीले बताए । वर्षौंदेखि ओझेलमा परेको झरना पर्यटकीय आकर्षणका रुपमा विकास भइरहेको उनको भनाइ छ ।

पहिले एक्लैदुब्लै जान पनि डर मान्नुपर्ने पहराको खोँचमा अवस्थित झरना अहिले आन्तरिक पर्यटकको रोजाइमा छ । क्यानोनिङका लागि मात्रै नभएर प्राकृतिक सौन्दर्यमा रमाउनेका लागि पनि सहस्रधारा उपयुक्त गन्तव्य मानिन्छ । जङ्गलले घेरिएको अक्करे भिरमुनि छङ्छङ् गर्ने झरनाले त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ । ८६ मिटर अग्लो झरना जिल्लामै पहिलोपटक साहसिक खेल छाँगावरोहण (क्यानोनिङ) का लागि नयाँ गन्तव्यका रुपमा पहिचान गरिएको हो । स्थानीय युवाले ‘सहस्रधारा क्यानोनिङ प्रवर्द्धन केन्द्र’ गठन गरेर खेलसँगै झरनाको प्रवर्द्धन गरिरहेका छन् । युवाको सोच र योजनामा गलकोट नगरपालिका सारथी बनेको छ । सहस्रधारालाई धार्मिक पर्यटनसँग पनि जोड्न सकिने स्थानीयवासी बताउँछन् । गाउँलेले ‘छहराको झाँक्री’ मानेर वर्षको दुईपटक झरनामा पूजा गर्ने गर्छन् । सहस्रधारामा ठाउँठाउँबाट खसेका फोहोरा आकर्षक देखिन्छन् ।

गलकोट, हटियाबजारदेखि दुई किमी मोटर यात्रामा सहस्रधारा पुग्न सकिन्छ । पैदल हिँडे जम्मा ३० मिनेटमा पुगिन्छ । बागलुङ सदरमुकामदेखि मध्यपहाडी पुष्पलाल लोकमार्गको ४५ किमी यात्रापछि गलकोट आइपुग्छ । गलकोट पुग्दा नजीकको गाईघाट झरना, गलकोट दरबार, मूर्तिकला सङ्ग्रहालय, ऐतिहासिक गलकोट कोतघर आदि घुम्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?