कृषिमा यान्त्रिकीकरण गर्न महानगरपालिद्वारा किसानलाई १० लाख सहयोग

RSS
0
Shares

काठमाडौं । परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई विस्थापित गरी व्यावसायिक कृषितर्फ उन्मुख गराउनका लागि विराटनगर महानगरपालिकाले कृषि यान्त्रिकीकरणलाई प्राथमिकतामा राखेको छ ।

यसका लागि महानगरपालिकाले किसानलाई १० लाख सहयोग प्रदान गर्ने भएको छ । यो सहयोगमा कृषकले १० लाख थपेर कृषि औजार रिपर खरीद गर्ने योजना बनाएको महानगरपालिकाका प्रमुख भीम पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले जानकारी दिएका छन् ।

विराटनगर–१९ मा रहेको खापटोलमा स्थानीय कृषकको समूहले २२ बिघा क्षेत्रफलमा गहुँ खेती गरेका छन् । महानगरपालिकाको गहुँपकेट कार्यक्रमअन्तर्गत बरियाली कृषक समूहले खेती गरेका हुन् । समूहमा २५ जना किसान संलग्न छन् । विजय जातको गहुँ लगाएका छन् । खेतीका लागि महानगरको कृषि शाखाले गुणस्तरयुक्त सो जातको बीउबिजन प्रदान गरेको थियो । यसका अलावा कृषकलाई विभिन्न कृषि औजार र व्यवस्थापनमा महानगरले सहयोग गरेको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, कृषि विज्ञ र कर्मचारीसहितको टोलीले गहुँको पकेट क्षेत्रको स्थलगत निरीक्षण गर्दै कृषकका आवश्यकता र स्रोत साधनको व्यवस्थापनसमेतका विषयमा जानकारी लिएका छन् ।

सोही अवसरमा कृषकहरुद्वारा आयोजित छलफलमा समेत प्रमुख पराजुली सहभागी भएका थिए । कृषकले गहुँ र धान काट्ने आधुनिक कृषि औजार रिपर उपलब्ध गराइदिन माग गरेबमोजिम महानगरले १० लाख दिने भएको छ । यसमा कृषकले समेत १० लाख थप गरी २० लाखको लागतमा कृषि औजार खरीद गर्ने भएका छन् ।

विराटनगर–१८ र १९ मा कृषि गर्न योग्य क्षेत्र रहेका छन् । महानगरले यी दुवै क्षेत्रमा कृषिका कार्यक्रमहरु केन्द्रित गरेको छ भने कृषकका लागि विभिन्न सेवा दिँदै आएको छ । विराटनगर क्षेत्रमा खाली भूभागमा धान खेती, तरकारी खेती, मकैबाली, गहुँबाली जस्ता बाली लगाउने गरिएको छ भने केही किसानले आँपका बगैँचा पनि लगाएका छन् ।

महानगरपालिकाका प्रमुख पराजुलीले कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि सक्दो सहयोग गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?