ड्रागन फ्रुटबाट दङ्ग तिलक: मलेसियामा सिके, बाँकेमा उब्जाए (भिडियो रिपोर्ट)

काठमाडौँ– बाँकेको खजुरा गाँउपालिका वडा नं. ४ का तिलक सिरिस मगरले ड्रागन फ्रुटको १० वटा बोटबाट वार्षिक करिब ५० हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् । ६ वर्ष वैदेशिक रोजगारमा ड्रागन खेती गरेर घर फर्केका मगरले मालेसियाबाट एउटा बोट ल्याएर आफ्नै बारिमा खेती शुरु गरेका हुन् ।

बाँकेको खजुरा गाँउपालिका वडा नं. ४ का तिलक सिरिस मगरले ६ वर्षसम्म वैदेशिक रोजगारीका लागि मलेसियामा बसे । मलेसियामा ड्रागन फ्रुटको फार्ममा काम गरेका मगर अहिले भने आफ्नै ठाउँमा ड्रागन फ्रुटको खेती शुरु गरेका छन् । शुरुमा एउटा बोटबाट खेती शुरु गरेका  मगरको बारिमा अहिले १ सय १० वटा पिलरमा ४ सय ४० वटा विरुवा रहेका छन् । १० वटा बोटले आम्दानी दिन थालिसकेको छ । गत वर्ष १० वटा विरुवाबाट ४० हजार रुपैयाँ आम्दानी भएको र यस वर्ष अहिलेसम्म ३० हजार रुपैयाँ बढीको विक्री भइसकेको बताए ।

ड्रागन फ्रुट खेतीमा मगरकी बहिनी कविता थापाले सघाउँदै आएकी छिन् । ड्रागन फ्रुटको बजारको समस्या नरहेको थापाले बताइन् । अहिलेसम्म घरबाटै प्रति केजी ६ सय रुपैयाँको दरले विक्री भइराखेको छ । अहिले सेतो र पिङ्क गरी दुई किसिमका ड्रागन फ्रुटको विरुवा लगाएको पनि थापाले बताइन् ।

स्वास्थ्यको लागि लाभदायक भएकोले गाँउपालिकाले ड्रागन खेतीलाई प्रोत्साहन गर्ने भएको छ । पालिकाले आर्थिक, प्राविधिक रुपले सहयोग गरी किसानहरुलाई ड्रागन फ्रुट खेतीमा प्रोत्साहन गर्न लागेको गाउँपालिकाका कृषि शाखा प्राविधिक अंकित विश्वकर्माले बताए।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?