दशैँमा विभिन्न अपराधमा संलग्न १२८ पक्राउ

चितवन, १६ असोज ।जिल्ला प्रहरी कार्यालय चितवनले बडादशैँको घटस्थापनादेखि आजसम्म विभिन्न अपराधमा संलग्न १२८ जनालाई पक्राउ गरी कारबाही गरेको छ ।जिल्लामा रहेका प्रहरीका विभिन्न एकाइबाट सो संख्यामा पक्राउ गरी कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए ।उनका अनुसार पक्राउ परेकामध्ये १५ जनालाई मुद्दा दर्ता गरी अनुसन्धान गरिएको र अन्य ११३ जनालाई सामान्य कारबाही गरी छाडिएको छ ।मुद्दा दर्ता हुनेमा केही सार्वजनिक अपराधअन्तर्गत १० जना, लागुऔषधमा तीनजना, जबर्जस्ती करणीमा एकजना र सवारी दुर्घटनामा एकजना रहेको शर्माले जानकारी दिए । पक्राउ परी सामान्य कारबाही गरिएकामा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने १६, झैझगडा गर्ने १५, घरायसी झगडा गर्ने पाँच, सवारी दुर्घटनाका १०, सामान्य सोधपुछ २७ र राति शंकास्पद हिँडडुल गर्ने ४० जना रहेका छन् ।यस्तै दशैँको समयमा घर जान टिकट नपाउने र विभिन्न समस्या परेका यात्रु ६३९ जनालाई यात्रु सहायता कक्षबाट सेवा प्रदान गरिएको उहाँले बताए । सेवा लिनेमा पोखरा बसपार्क नारायणगढबाट २४५ जना र केन्द्रीय बस ट्रमिनल हाकिमचोकबाट ३९४ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?