बागलुङ । ‘हामी सबैको रहर, पत्रकार महासंघको घर’, पत्रकार महासङ्घ बागलुङ शाखाको वर्तमान कार्यसमितिको पहिलो बैठकले निर्णय गरेर थालेको अभियान हो यो ।
झोलामा महासंघको कार्यालय बोक्नुपर्ने बाध्यताको अन्त्यका लागि अघिल्ला कार्यसमितिको पहलमा प्राप्त जग्गामा सदरमुकाम बागलुङ बजारमा पत्रकार महासंघको आफ्नै भवन ठडिएको छ ।
सहयोगकै भरमा झण्डै एक करोड खर्चेर बनाइएको भवनमा अहिले सुविधसम्पन्न सूचना केन्द्र, तालीम कक्ष, सभाहललगायत संरचना निर्माणको काम चलिरहेको छ । महासंघको भवन निर्माण र त्यहाँ बनेका संरचनाका लागि देशबाट मात्रै होइन, विदेशमा बस्ने नेपालीको पनि ठूलो सहयोग रहेको छ । घर बनेर उद्घाटन भइसकेपछि पनि सहयोग गर्ने अभियान भने रोकिएको छैन् ।
‘आधुनिक सूचना केन्द्र सञ्चालनमा ल्यायौं, अब हामी सुविधा सम्पन्न तालीम कक्ष बनाउने अभियानमा छौं’, महासंघका जिल्ला अध्यक्ष दिल शिरिषले भने, “सदरमुकाममा सुविधासम्पन्न सभाहल महासंघले निर्माण गर्ने छ ।” तयार भएको हलभित्र आवश्यक पूर्वाधार निर्माणको काम बाँकी छ । प्रभु बैंकको सहयोगमा निर्माण भएको आधुनिक सूचना केन्द्रका लागि पाँच लाख खर्च भएको छ ।
सौर्य ऊर्जा तथा विद्युत् नभएको बेला चल्ने गरी ब्याकअपको व्यवस्था गर्न बाँकी छ । त्यसका लागि समेत महासंघले मनकारी खोजिरहेको छ । महासंघको अभियानका लागि विदेशमा गठन भएका नेपालीका सङ्गठनहरुले आफ्नो फजुल खर्च कटाएर सहयोग गर्ने क्रम जारी छ ।
हिजो (मंगलवार) अन्तर्राष्ट्रिय बागलुङ समाजले आधुनिक तालीम कक्षमा आवश्यक प्रोजेक्टर सहयोग गरेको छ । झण्डै ५० हजार मूल्य पर्ने प्रोजेक्टर समाजका महासचिव देव पौडेलले हस्तान्तरण गरे । “हाम्रो सहभागिता मात्रै हो, सानो भए पनि सहयोग गरौं भन्ने लागेर प्रोजेक्टर बोकेर आएँ”, महासचिव पौडेलले भने, “विस्तार हुँदै गरेको सङ्गठनको माया भनेर बुझ्नु होला ।”

सामान्य फर्निचरका लागि समेत महासंघलाई आफैसँग स्रोत हुँदैन् । सभाहलमा ध्वनीको व्यवस्थापन र फर्निचरका लागि बागलुङ समाज बेल्जियमले सहयोग गरेको छ । समाजका अध्यक्ष राजु थापाले समाजको तर्फबाट २० हजार सहयोग गरे । “कत्रो सौहार्दता, सामाजिक मनहरुकै कारण आज हामी सबैको साझा घर बनेको छ, अब यहाँ बन्ने अन्य संरचनाले सबैलाई सहज हुन्छ” महासंघका सचिव राम थापा ‘अविलर’ले भने, “हामी थाकेका छैनौं, सहयोगी मनहरुले ऊर्जा थपिरहनुभएको छ ।”
महासंघले सरकारी निकाय, सङ्घसंस्था, व्यक्ति र समूहको सहयोगमा एक करोडभन्दा बढी खर्च गरेर आधुनिक भवन र त्यसभित्र सूचना केन्द्र, सभाहल, तालीम कक्षको निर्माण गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया