रूद्राक्ष धारण गर्दा हुन्छन् नसोचेको फाइदा !

काठमाडौं । वैदिक सनातन हिन्दू धर्ममा रूद्राक्षलाई निकै महत्वका साथ हेर्ने गरिन्छ । विभिन्न शुभ कार्यहरुमा रूद्राक्षको प्रयोग गरिन्छ । रूद्राक्षको बारेमा पुराण तथा उपनिसदहरुमा वर्णन गरिएको छ । रूद्राक्षलाई शिवको आँखाको आशु भएको बताइएको छ । यसका बारेमा पनि पुराणमा एक कथा प्रचलित छ ।

एक दिन शिवजीले मन दुखाउनु भयो । मन दुख्दा उनको आँखामा आशु जम्मा भयो । उहाँले आँखा खोल्दा आशुका ढिक्का जमिनमा खस्यो । त्यहि आशु पछि रूद्राक्षको वृक्ष भई उत्पन्न भयो । शिवमहापुराणमको विद्येश्वरसंहितामा रूद्राक्षको १४ वटा प्रकार बताइएको छ ।

यि १४ प्रकारका रूद्राक्षको महत्व,धारण गर्ने समय र मन्त्र फरक फरक हुने शास्त्रमा बताईएको छ । विशेष गरि शिवरात्रीको दिन रूद्राक्षलाई विधिपूर्वक धारण गर्नाले लाभ मिल्नेछ ।

एकमुखे रूद्राक्ष – एकमुखे रुद्राक्षलाई साक्षात शिवको स्वरूप मानिन्छ । यो एकदमै दुर्लभ रूद्राक्ष हो । एक मुखे रूद्राक्ष धारण गर्नाले मोक्ष प्राप्ती हुन्छ । एक मुखे रुद्राक्षको पूजा गर्नाले वा धारण गर्नाले घरमा लक्ष्मीको वास हुन्छ ,फलस्वरुप मानिस सुखी,आनन्द तथा आर्थिक रुपमा सम्पन्न हुन्छ ।

धारण गर्ने मन्त्र – ऊँ ह्रीं नम ।

दुईमुखे रूद्राक्ष – दुईमुखे रुद्राक्षलाई देवदेवेश्वर भन्ने गरिन्छ । दुई मुखे रूद्राक्ष धारण गर्नाले तपाईको ईच्छा आकांक्षा तथा मनोकामना पूरा हुन्छ ।

धारण गर्ने मन्त्र – ऊँ नमः ।

तीनमुखे रूद्राक्ष – तीनमुखे रुद्राक्ष धारण गर्नाले मानिसले जीवनमा चाहेको सफलता प्राप्त गर्दछ । यसको प्रभावले जीवनमा हरेक काममा सफलता मिल्ने गर्छ भने विद्या,वुद्धि तथा सन्तान प्राप्तिका लागि पनि यो रुद्राक्ष निकै चमत्कारी हुने गर्दछ ।

धारण गर्ने मन्त्र–ऊँ क्लीं नम ।

चारमुखे रूद्राक्ष – चारमुखे रुद्राक्ष व्रम्हाको स्वरूप हो । यसको दर्शन,धारण वा स्पर्शले धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुने गर्छ ।

धारण गर्ने मन्त्र–ऊँ ह्रीं नमः ।

पाँचमुखे रूद्राक्ष – पाँचमुखे रूद्राक्ष धारण गर्नाले सबै प्रकारका सुख प्राप्त हुन्छ । सबैलाई मुक्ति दिन सक्ने र सम्पूर्ण इच्छा पूर्ण गर्न सक्ने ५ मुखे रूद्राक्ष हो । यसलाई धारण गर्नाले मानसिक शक्तिको विकास हुन्छ ।

धारण गर्ने मन्त्र– ऊँ ह्रीं नमः ।

छ मुखे रूद्राक्ष – छमुखे रुद्राक्ष भगवान कार्तिकेयको स्वरूप हो । यसलाई धारण गर्ने व्यक्ति ब्रह्महत्याको पापबाट समेत मुक्त हुन्छ । अर्थात् यो रुद्राक्ष धारण गर्ने व्यक्तिको सबै पाप नष्ट हुन्छ ।

धारण गर्ने मन्त्र–ऊँ ह्रीं हुं नमः ।

सात मुखे रूद्राक्ष – सात मुखे रूद्राक्ष अनंहस्वरूप अर्थात् अनंगको नामबाट प्रसिद्ध छ । यसको धारण गर्ने व्यक्ति जतिसुकै गरिव भएपनि राजा बन्न सक्छ अर्थात् उक्त व्यक्ति निकै धनी बन्ने गर्दछ । यदि कुनै गरिव व्यक्ति यो रूद्राक्षलाई विधीपूर्वक धारणा गर्छ भने ऊ निकै धनी बन्न सक्छ ।

धारण गर्ने मन्त्र – ऊँ हुं नमः ।

आठमुखे रूद्राक्ष – आठमुखे रुद्राक्ष अष्टमुर्ती भैरवस्वरूप हो । यसको धारण गर्नाले मानिस पूर्णायु हुन्छ । अर्थात् जसले यो रुद्राक्ष धारण गर्छ उसको आयु बढ्ने गर्छ । संकट,खड्गो तथा अकाल मृत्युबाट समेत जोगिन्छ ।

धारण गर्ने मन्त्र – ऊँ हुं नमः ।

नौमुखे रूद्राक्ष – नौमुखे रुद्राक्षलाई भैरव तथा कपिल मुनीको प्रतिक मान्ने गरिन्छ । भैरव क्रोधको प्रतिक हुन् र कपिल मुनी ज्ञानको प्रतिक । अर्थात् ९ मुखे रुद्राक्ष धारणा गर्नाले क्रोधलाई नियन्त्रण गरि ज्ञान प्राप्त गर्न सकिन्छ ।

धारण गर्ने मन्त्रः ऊँ ह्रीं हुं नमः ।

दशमुखे रूद्राक्ष – दसमुखे भगवान् विष्णुको रूप हो । यसको धारणा गर्ने मानिसको सम्पुर्ण कामना पूरा हुन्छ ।

धारण गर्ने मन्त्र – ऊँ ह्रीं नमः ।

एघार मुखे रूद्राक्ष – एघारमुखे रुद्राक्षलाई रूद्ररूप मानिन्छ । यसको धारण गर्ने व्यक्तिलाई सबैतिरबाट विजय मिल्छ । अर्थात् कुनै पनि काममा असफलता हात लाग्दैन ।

धारण गर्ने मन्त्र – ऊँ ह्रीं हुं नमः ।

बाह्रमुखे रूद्राक्ष – बाह्रमुखे रुद्राक्ष धारण गर्नाले मानिसको टाउकोमा बारहो आदित्य बस्ने गर्छ । अर्थात् उक्त व्यक्तिको जीवनमा कहिल्यै पनि इज्जत, पैसा, र अन्य कुनै पनि वस्तुको कुनै कमी हुँदैन ।

धारण गर्ने मन्त्र – ऊँ क्रौं क्षौं रौं नमः ।

तेह्र मुखे रूद्राक्ष – तेह्रमुखे रूद्राक्षलाई विश्वदेवोको स्वरूप मानिन्छ । यसको धारण गर्नाले मानिसले सौभाग्य र मंगल प्राप्त गर्छ । सबैखाले भौतिक सुख भोग गर्दछ ।

धारण गर्ने मन्त्र – ऊँ ह्रीं नमः ।

चौध मुखे रूद्राक्ष – चौधमुखे रूद्राक्ष परम शिवरूप हो । यसको धारण गर्नाले सबै प्रकारको पापको नाश हुन्छ भनि शास्त्रमा बताईएको छ ।

धारण गर्ने मन्त्रः ऊँ नमः ।

ज्यो. दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?