महासंघको प्रतिनिधिमण्डलद्वारा अर्थमन्त्रीसँग भेट, उद्यमी व्यवसायीका समस्या सम्बोधन गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेटघाट गरेको छ ।

मंगलवार अर्थ मन्त्रालयमा भेटगरी सरकारका तर्फबाट तत्काल सम्बोधन हुनुपर्ने केही महत्वपूर्ण विषयमा ध्यानाकर्षण गराएको छ । उद्यमी व्यवसायीहरुले बुझाउनु पर्ने कर विवरणको म्याद र बैंकको साँवा व्याज भुक्तानी गर्ने समय बढाउन सो अवसरमा महासंघका तर्फबाट अर्थमन्त्री समक्ष आग्रह गरिएको महासंघले जनाएको छ ।

भेटवार्ताका क्रममा महासंघका तर्फबाट उद्यमी व्यवसायीले आर्थिक बर्ष सकिएको ६ महिनाभित्र आफ्नो अघिल्लो आर्थिक बर्षको लेखा परीक्षण गरिएको प्रतिवेदन सहितको विवरण सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेपनि गत बर्षको अन्तिम साढे ३ महिना लकडाउन र चालु आर्थिक बर्षमा पनि झण्डै एक महिना निषेधाज्ञा भएकाले कम्पनी फर्महरुले लेखापरिक्षण समयमै गर्न नसकेको अर्थमन्त्री पौडेल समक्ष राखेका छन् । साथै उक्त विवरण बुझाउने म्याद तीन महिना थप गरिदिन आग्रह समेत गरेका छन् ।

त्यसैगरी भेटवार्तामा महासंघका तर्फबाट बैंकहरुले उद्यमी व्यवसायीमाथि गरेको कडाइले निजी क्षेत्र समस्यामा परेको भन्दै लकडाउनबाट विशेषगरि साना मझौला उद्योग बढि प्रभावित भएका र कुनै पनि साना मझौला उद्यम पुर्णरुपमा संचालनमा आइनसकेका र स्वदेश तथा विदेशमा समेत माग नबढेकाले ऋण तिर्न तोकिएको समय अपर्याप्त भएकाले यही पौष मसान्तसम्मका लागि तोकिएको ऋण तिर्ने म्यादलाई कम्तीमा तीन महिना पर सारिदिन पनि आग्रह गरेका छन् ।

कानुनी व्यवस्था हँुदाहँुदै पनि बैंकहरुले कालोसूचिमा राख्ने लगायतका धम्की दिइरहेको जानकारी गराउँदै म्याद थपिएन भने पचास प्रतिशत भन्दा बढि साना मझौला उद्यम बन्द नै हुने अवस्थामा पुग्ने पनि सो अवसरमा महासंघका तर्फबाट स्पष्ट पारेका छन् ।

बैशाख यतामात्रै २८ सयलाई कालोसूचिमा राखिएको विभिन्न माध्यमबाट जानकारी आएकोतर्फ अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराउँदै साना मझौला उद्यमीलाई यो बाहेक पनि छुट्टै रिकभरी जस्तो कर छुट, विभिन्न अन्य शुल्क मिनाहा, बजार प्रवद्र्धन लगायतको प्याकेज आवश्यकता पर्ने बताएका छन् । साथै महासंघका तर्फबाट बजेटको मध्यावधि समिक्षामा साना तथा मझौला उद्यमीहरुका लागि विशेष राहत प्याकेज राखिदिन पनि आग्रह गरिएको महासंघले जनाएको छ ।

व्यवसायीहरुको छलफलमा अर्थमन्त्री पौडेलले महासंघका तर्फबाट राखिएका सुझावहरूलाई आफूले गम्भीरतापूर्वक लिएको र प्राप्त सुझावहरुको कार्यान्वयनमा सक्दो सहयोग गर्ने विश्वास दिलाएका छन् ।

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, उद्योग समितिका सभापति भरत आचार्य, कर तथा राजस्व समितिका सभापति संदीप अग्रवाल, अर्थमन्त्रालयका वरिष्ठ अधिकारीहरू, महासंघका उपमहानिर्देशक गोकर्ण अवस्थी र उपनिर्देशक विदुरचन्द्र लामिछाने लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?