संसद विघटनमा सुवास नेम्वाङको मौनताप्रति गगनको आपत्ती- ‘ निरिहता देखेर दया लाग्यो’

काठमाडौं । पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संसदविघटनप्रति नेकपा नेता सुवास नेम्वाङको मौनताप्रति आपत्ती जनाएका छन् ।

तत्कालिन संविधानसभा अध्यक्ष समेत रहेका नेता नेम्वाङलाई संविधानको अक्षर, त्यसको स्पन्दन अनि त्यससँग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्म सबै थाहा भएपनि संसद विघटनप्रति नबोलेको भन्दै आपत्ती जनाएका हुन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध नेम्बाङले प्रतिक्रिया नजाउँदै निरिह देखिनुले दया लागेको बताए ।

सामाजिक सञ्जालमा लेख्दै भनेका छन्,  “प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ। म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ।
मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर- “श्रीमान् प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो।मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय (Legislative Intent) यस्तो हुँदै होइनुुभनेर सन्दर्भ सहित जमेर बहस गर्नुहुनेछ।
अपसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ,प्रश्नबाट भाग्नुभएको छ।आफैले बनाएको संविधानमा ‘कु’ हुँदैगर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ।

नेता थापाले संविधान सभाको नेताले समेत संविधानको पक्षमा उभिने साहस गर्न नसकेको तर सर्वोच्च अदालतले संविधानको पक्षमा रहेर संसद विघटनको पक्षमा उभिने साहस राख्ने विश्वास व्यक्त गरेका छन् ।

“संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन। मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ।” उनले भने ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हठात रुपमा संसद विघटन गरेपछि त्यसको विरुद्ध सर्वोच्चमा दर्जनभन्दा बढी रिट दर्ता भएका छन् । आजबाट त्यसको सुनुवाइका लागि बहस शुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?