यो वर्ष देवघाटमा माघेसङ्क्रान्ति मेला नहुने

RSS
0
Shares

चितवन । पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएकोे छ ।

कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएकोे छ ।

समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार तीन जिल्लाका सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा भएको बैठकले मेला नगर्ने निर्णय गरेको हो । माघे सङ्क्रान्तिमा ३६ घण्टाको अवधिमा पाँच लाख तीर्र्थालु भक्तजन मेला भर्न आउने गरेको विगतको तथ्याङ्क छ ।

कार्यकारी निर्देशक घिमिरेले स्नान घरमानै गरेर यस वर्ष माघेसङ्क्रान्ति मनाउन अनुरोध गरिएको जानकारी दिए। उनले भने, “बेनीमा स्नान मात्र गर्न आउनेलाई भने हामी रोक्दैनौं ।” स्वास्थ्य सतर्र्कता अपनाएर स्नान गर्न अनुरोध गरिएकोे उनको भनाइ छ ।

देवघाटमा माघे सङ्क्रान्तिका अवसरमा दुई दिनअघि देखिनै आएर मेला भर्ने प्रचलन रहेकोे छ । छिमेकी मुलुक भारत र नेपालभरिबाट भक्तजन यहाँ आउने गर्छन् । मेला व्यवस्थापन गर्न तीन जिल्ला चितवन, तनहुुँ र नवलपरासीका सुरक्षा निकाय खटिने गर्दथे । पुस मसान्तमा बेनीमा लिङ्गो गाडेर मेलाको शुभारम्भ गर्ने गरिन्छ । मेला नभए पनि विधि भने पूरा गरिने जनाइएको छ ।

ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति भनिएको हो । सो दिनदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

भविष्य पुराण, विष्णुबचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घीउ, चाकु, तिलको लडडु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?