आधुनिक प्रविधिबाट सरसफाइ गरेर व्यावसायिक बन्दै युवा

RSS
0
Shares

झापा । वैदेशिक रोगजारबाट फर्किएका युवा यतिबेला स्वदेशमै विभिन्न पेशा र व्यवसायमा रमाउन थालेका छन् । कोही कृषिमा त कोही व्यापार व्यवसायमा । तर दुई वर्ष अघि विदेशीबाटै फर्किएका युवाले भने फरक पेशालाई आफ्नो व्यवसायका रुपमा अङ्गालेका छन् ।

विर्तामोड नगरपालिकाका लोकबहादुर दाहाल, तोयानाथ ढुङ्गाना, अनिल गौतम र भद्रपुरका काशीराज गुरुङ मिलेर फोरस्टार क्लिनिङ सर्भिस कम्पनी नै खोलेर सरसफाइको काम गर्न थालेका हुन् । उनीहरु आफू मात्र गर्दैनन् अन्य आठ जना युवालाईसमेत रोजगारी दिएका छन् । ती युवासँग खाडीमूलक कतार र दुवईमा २० वर्ष क्लिनरको काम गरेर बिताएको अनुभव छ । परम्परागत शैलीलाई उछिन्दै अहिले आधुनिक शैली हाबी हुँदै गएको छ ।

विदेशमा आफूले जानेको सीपलाई आफ्नै देशमा प्रयोग गर्ने र युवा जमातलाई समेत काम सिकाएर दक्ष बनाइ स्वरोजगार बनाउने उनीहरुको उद्देश्य छ । प्रायः सरसफाइको काम गर्न नपढेका भए पनि हुने र सामान्य झाडु लगाउन जान्ने भए पुग्ने मान्यता रहेको छ । तर उनीहरुको धारणा फरक छ । हिजो माटो र काठले बनेका घर हुन्थ्थें । आज नेपालमा पनि आधुनिक टायल्स र मार्बल लगाएर बनेका घर छन् । सरसफाइमा ध्यान दिन सकिएन भने बेलैमा खुइलिने र भत्किएर जाने उनीहरुको भनाइ छ ।

“सरसफाई मानव स्वाथ्यका लागि अपरिहार्य छ, हामी आधुनिक तरिकाले राम्रो र गुणस्तरीय केमिकलद्वारा सफा गछौं”, सञ्चालकमध्येकै अनिल गौतमले भने, “जसले घर, परिवार र समाजलाई सुरक्षित बनाउँछ ।” शुरुमा कम्पनी शुरु गर्ने बित्तिकै आफन्त र नातागोताले सरसफाइको काम नगर्न सुझाएका थिए । तर, आफूहरुले जानेकै काम गरेर समाजमा स्थापित हुने र व्यावसायिक बन्ने प्रणका साथ लागि परेको उनले बताए ।

त्यसो त शुरुमा उनीहरुलाई कम्पनी दर्ता गर्न सकस परेको थियो । आन्तरिक राजश्व कार्यालय र जिल्ला प्रशासन कार्यालयका कर्मचारीले सरसफाइ गर्ने पनि कम्पनी हुन्छ र रु भन्दै प्रतिप्रश्न गरेका थिए । जिल्लामै पहिलो पटक कम्पनी नै दर्ता गरेर सरसफाइको काम गर्ने उनीहरु नै पहिलो हो । कम्पनी दर्ता गरेर यो कार्यमा उनीहरु आज सफल बनेका छन् ।

“विदेशमा अन्य कामभन्दा महत्वपूर्ण सरसफाइ हुन्छ”, यस्तो काम तालीम प्राप्त र दक्षजनशक्तिले मात्र पाउँछन्”, उनले भने, “विडम्बना नेपालमा सरसफाइलाई सामान्य ठानिन्छ । आधुनिक प्रविधि र दक्षजनशक्तिद्वारा काम गराउने थोरै छन् ।”

उनीहरुले मुनाफा कमाउनुभन्दा पनि सरसफाइको महत्व दर्शाउन र अरु पेशा जस्तै यो पनि सम्मानित पेशा हो भनेर पहिचान बनाउन आफू लागि परेको बताए । “हामीले विदेशमा जे सिक्यौं र गर्‍यौं त्यही काम आफ्नै ठाउँमा गर्ने प्रण गरेर विदेशबाट फर्कियौं”, काशीराज गुरुङले भने, “तर हाम्रोमा सरसफाइ गर्नेलाई सम्मानित पेशा ठानिदैन, हामीलाई यसैको महत्व समाजमा बुझाउन र प्रशस्त आम्दानीको स्रोत हुन्छ भनेर युवालाई अभिप्रेरित गर्नुछ । कम्मर कसेर लागेका छौं ।”

यतिबेला दैनिक विभिन्न सङ्घसंस्था, व्यक्ति र सरकारी कार्यालयका भवन सफा गर्न उनीहरुलाई भ्याइनभ्याइ छ । सहारा नेपाल, नेपाल बहुउद्देश्यीय सहकारी, आन्तरिक राजश्व कार्यालय भद्रपुरलगायत दर्जनौं कार्यालयमा उनीहरुले सरसफाइ गरिसकेका छन् । आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख युवराज श्रेष्ठले उनीहरुको कामबाट आफू सन्तुष्ट भएको बताए । एक वर्ष अघि सरुवा भएर यस कार्यालयमा आएदेखि नै उनले व्यावसायिक सरसफाइ गर्ने कम्पनी खोजी गर्दा बल्ल उनीहरुसँग सम्पर्क भएको बताए । उनले उनीहरुको कामको प्रशंसा गरे ।

यतिबेला उनीहरुको कम्पनीमा तालीम लिनका लागि आउनेको पनि भीड लाग्न थालेको छ । तालीम लिन आउनेमा वैदेशिक रोजगारीमा जाने बढी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?