फलाम पिटेर पेट पाल्नेहरू भन्छन्, ‘जीवन निर्वाह बाहेक केही गर्न सकिएन’ (भिडियो रिपोर्ट)

काठमाडौँ-  बाँकेको बैजानाथ गाउँपालिका ८ का प्रेम बहादुर विकले ३५ वर्षदेखि फलामका औजारहरु बनाएर जीवन यापन गर्दै आएका छन् । आफ्नो जीवन निर्वाह गर्न बालीघरे (खलो) प्रथामा फलामका सामग्री बनाउने र त्यसको सट्टामा ज्याला स्वरुप अन्न लिने गरिन्छ । विकले अहिले करिब १ सय घरधुरीको फलाम पिट्ने काम गर्दै आएका छन् । लामो समयदेखि आरन पेशा अपनाएका विकले जीवन निर्वाह बाहेक जीवनका कुनै परिवर्तन नआएको गुनासो गरे ।

वर्षभरी काम गरेबापत अन्नपात ल्याएर परिवार पाल्नु बाहेक अन्य कुनै प्रगति नभएको उनको भनाइ छ । एसएलसी उर्तिण गरेका विकले आरन पेशालाई व्यवसायीक बनाउन स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए ।

बैजानाथ गाँउपालिकाकै बिन्दु सुनारले पनि विगत २७ वर्षदेखि फलाम पिट्ने काम गर्दै आएका छन् । उनले पनि बालीघरे प्रथा अनुसार नै ज्यालाको रुपमा अन्न लिन्छिन् । आरन पेशाबाट घरमा खाने कुराको अभाव नभएको तर दुःख गरे अनुसारको मूल्य नपाएको गुनासो उनको छ । यस्तै पछिल्लो समय निकुञ्ज स्थापना भएपछि फलाम पोल्ने गोल पाउनै मुस्किल भएकोले आरन पेशा संकटमा पर्न लागेको गुनासो समेत गरिन् ।

बाँके जिल्ला भित्र अहिले पनि बालीघरे प्रथामा आरन काम गर्ने दर्जनौ छन । वर्षभरी काम गर्ने र त्यसको ज्याला स्वरुप अन्नपात ल्याउने भएकाले उनीहरुको जीवनमा कुनै परिवर्तन भने आएको छैन ।

प्रस्तुत छ, यसै  विषयमा तयार पारिएको भिडियो रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?