कोरोना कहर : नयाँ वर्षले पर्यटन क्षेत्रमा ल्याउला त उत्साह ?

कमला अर्याल /काठमाडौं ।  एक वषदेखि विश्वलाई आक्रान्त बनाएको कोरोना भाइरस ‘कोभिड १९’ का कारण विश्वको हरेक क्षेत्र तह र तप्का प्रभावित बन्यो । कोरोनाको कारण विशवभरको पर्यटन क्षेत्र नराम्ररी प्रभावित बन्यो ।

कोरोना संक्रमण कहिले सकिएला भन्ने एकिन नभएपनि पर्यटन क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सरोकारवालाहरु विभिन्न कोण र ढंगबाट सोच्न र योजना बनाउन लागिपरेका छन् ।

भर्खरै जुर्मुराएको नेपाली पर्यटन क्षेत्र पनि कोरोनाको प्रभावबाट नराम्ररी थलियो । कोरोना भाइरसका कारण सरकारले गत चैत्र ११ गतेदेखी मुलुकभरी निषेधाज्ञा अर्थात् लकडाउन गरेको थियो । सो पश्चात् पटक – पटक निषेधाज्ञा समेत जारी गरीयो ।  यसको कारण मुलुकका उद्योग धन्दा, कलकारखाना, पर्यटन, यातायात,अत्यावश्यक बाहेकका सम्पूर्ण क्षेत्र पूर्ण रुपमा बन्द भएका थिए । जसले मुलुकको अर्थतन्त्र निकै ओरालो लागेको थियो ।

सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत् यसपाली ७.५ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । तर कोरोनाका कारण सम्पूर्ण क्षेत्र प्रभावित भएकाले मुलुकको आर्थिक वृद्धिदर खुम्चिएर २.२७ प्रतिशतमा रहने तथ्यांक विभागले जनाएको छ ।

थप्ला त उत्साह ?

कोरोना भाइरस ‘कोभिड – १९’ कारण ध्वस्त भएको पर्यटन क्षेत्र नयाँ वर्ष लागेसँगै पर्यटन क्षेत्रमा केही सुधार आउला कि ! भन्ने आशामा व्यवसायी बसेका छन् । अंग्रेजी नयाँ वर्षसँगै मुलुकका विभिन्न पर्यटकीय गन्तव्यमा रहेका होटल तथा रेष्टुरेन्टहरुमा केही चहलपहल देखिएको छ । नयाँ वर्षको पूर्वसन्ध्यादेखि नै काठमाडौँ उपत्यका लगायतका मुख्य पर्यटकिय क्षेत्र पोखरा, सौराह, चितवन, दामन, काभ्रे लगायत क्षेत्रका होटलहरुमा आन्तरिक पर्यटकहरुको चलपहल बढेको छ । तर विदेशी पर्यटकहरु भने प्रशस्त मात्रामा आएका छैनन् । यद्यपी आन्तरिक पर्यटक बढिरहेकाले पर्यटन क्षेत्र आशावादी बनेको नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रचन्डमान श्रेष्ठले बताए । कोरोना भाइरसको भ्याक्सिन पनि बनिसकेकाले पनि पर्यटक बढ्न सक्ने आँकलन श्रेष्ठको छ । अहिले पनि यूरोपका विभिन्न मुलुकमा यात्रामा प्रतिबन्ध नै छ । त्यसैले पनि तत्काल पर्याप्त पर्यटक आउने अवस्था नभएको पूर्व सिईओ शाक्यको भनाई छ । त्यसैले केही समय पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक पर्यटनलाई बढवा दिनुपर्ने उनको तर्क छ । आगामी मार्चपछि मात्रै विदेशी पर्यटकहरु नेपाल भित्रिन थाल्नेमा पर्यटन क्षेत्र आशावादी भएको शाक्यले बताए ।
‘कोभिड १९’ पछि पर्यटक भित्र्याउन नेपाल सुरक्षित छ भनेर बुझाउनु पनि उत्तिकै जरुरी भएको उनले बताए ।

कोरोनापछि खुलेका होटल व्यवसायहरुले अझै राम्रो कारोबार गर्न सकिरहेका छैनन् । त्यसकारण तत्काल पर्यटन क्षेत्रमा रौनक आउँदैन कि भन्ने आँकलन होटल व्यवसायीहरुले गरेका छन् । होटल संघ नेपालका महासचिव साजन शाक्यले लामो समयपछि खुलेका होटलले पनि राम्रो कारोबार गर्न नसकेको गुनासो गरे ।

कोरोना संक्रमणका कारण लामो समय घरबाहिर निस्कन नपाएका सर्वसाधारण सरकारले सबै क्षेत्र खोल्ने निर्णय गरेसँगै घुमघामका लागि निस्कने गरेकोले आन्तरिक पर्यटक केही मात्रामा बढेका हुन् । तर आन्तरिक पर्यटकले मात्रै होटल तथा समग्र पर्यटन क्षेत्रमा सुधार आउन नसक्ने महासचिव शाक्य प्रष्ट्याउँछन् ।

अहिले सम्पूर्ण होटल क्षेत्रको अक्युपेन्सी २/३ प्रतिशतको हाराहारीमा मात्रै छ । यस्तो अवस्थामा होटल व्यवसाय सञ्चालन गर्दा आम्दानी भन्दा खर्च धेरै भएको उनले बताए । नखोली बस्नु भन्दा खोल्न उपयुक्त लागेर व्यवसाय खोले पनि पर्यटक नै नहुँदा पर्यटन क्षेत्रमा आम्दानी नै भएको छैन ।

यस्तो छ बजेटमा व्यवस्था
पर्यटन क्षेत्रकै कुरा गर्ने हो भने कोरोना अवधरीभरी यस क्षेत्रमा अर्बौ रुपैयाँको क्षति भएको छ ।

कोरोनापछि सरकारले क्षतिग्रस्त क्षेत्रको पहिचान गरी राहत प्याकेज समेत ल्याएको थियो । सरकाले चालू आर्थिक वर्षकोे बजेटमा पनि कोरोना प्रभावित क्षेत्रहरु मध्येको अति प्रभावित क्षेत्रमा पर्ने पर्यटन क्षेत्रलाई पनि समेट्ने गरी राहत स्वरुप सहुलियत तथा आर्थिक पुनरुत्थान कार्यक्रम ल्याएको छ ।

सरकारले समग्र क्षतिग्रस्त क्षेलाई माथि उकास्न ५० अर्ब रुपैँया बराबरको राहत कोष समेत स्थापना गरेको छ ।

यसै कार्यक्रम अन्र्तगत पूर्ण रुपमा प्रभावित भएका होटल क्षेत्रलाई ५ प्रतिशतसम्मको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले १ खर्ब रुपैयाँसम्मको पुनरकर्जा सुविधा मिलाउने बजेटले व्यवस्था गरेको छ ।

सोे पुनरकर्जा तथा अन्य क्षेत्रमा प्रवाह गरिने पुनरकर्जाका लागि केही दिन अघि मात्रै राष्ट्र बैंकले आवेदन आह्वान गरेको थियो ।

कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न सरकारले ट्राभल, ट्रेकिङ, हवाइ सेवा, होटल, पर्वतारोहण लगायतका सम्पूर्ण क्षेत्र ठप्प पारेको थियो ।

यी क्षेत्रको पुनरउत्थान गर्न सरकारले ब्याज,कर, शुल्क लगायतमा सहुलियत दिने व्यवस्था बजेट मार्फत् नै गरेको छ ।

यस्तो पर्यटक आगमनको आँकडा :
सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको थियो । पर्यटन वर्षका लागि २० पर्यटक भित्र्याउने लक्ष्य सरकारको थियो । सरकारले पर्पटन वर्ष मनाउन भब्य तयारी पनि गर्दै आएको थियो । तर गत माघ महिना देखि नै नेपालमा पनि कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि पर्यटन वर्ष प्रभावित भयो ।

कोरोना संक्रमणका कारण सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान तथा यातायात ठप्प पारेको थियो ।

यसले गर्दा एक ठाउँबाट अर्को ठाउँमा मानिसहरुको आवतजावत नै बन्द भयो । त्यस कारण पनि पर्यटक आगमन पूर्ण रुपमा प्रभावित भयो ।

अध्यागमन विभागको तथ्यांक अनुसार ८० प्रतिशतले पर्यटक घटेको देखिएको छ ।

सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटकले नेपाल भित्रिएका थिए । त्यस्तै, सन् २०१८ मा ११ लाख ७२ हजार ७२ जना पर्यटक नेपाल आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?