सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । सप्तरी, झापा, सर्लाही, नवलपरासी (पूर्व) र मोरङमा भएका छुट्टछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको हो ।

सप्तरीको रुपनी गाउँपालिका-६ बीरेन्द्रबजारमा को१ ख १४६८ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री बिष्णुपुर गाउँपालिका-१ बाजितपुर बस्ने ३५ वर्षीय रामकुमार खत्वे मण्डलको सोमवार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको युनिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

झापाको कन्काई नगरपालिका-५ स्थित सडकमा बा२ ख ९२८४ नम्बरको टिपरले को६ प २०८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापा गाउँपालिका-३ शिमलबारी बस्ने १९ वर्षीय सागर लिम्बुको सोमवार दिउँसो घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३८ वर्षीय गोपाल लिम्बुको बिएनसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको बरहथवा नगरपालिका-९ पैतालिस बिगास्थित सडकमा बा५८ प ४५३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने पैदलयात्री ७० वर्षीय ज्ञान बहादुर तामाङको सोमवार दिउँसो मृत्यु भएको छ । ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको लागि नमूना अस्पताल हरिवन हुँदै थप उपचारको लागि बीरगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी (पूर्व) को कावासोती नगरपालिका-११ पिठौलीस्थित सडकमा लु६० प ४०३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५१ वर्षीय दिलबहादुर बरामको सोमवार साँझ मृत्यु भएको छ । दुर्घटना परी गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । सोही दुर्घटनामा परी घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीया सिमा महत्तोको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मोरङको रतुवामाई नगरपालिका-६ कादुपाडाचोक स्थितमा को।२ त १२९२ नम्बरको ट्याक्टर र को१५ प १४०७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने १९ वर्षीय ज्ञानु भुसालको सोमवार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?