तीव्र रुपमा बढ्यो नबिलको निक्षेप, एनआईसी एशियाले बढायो ऋण

काठमाडौं । पछिल्लो समय नबिल बैंकले निक्षेप संकलनमा छलाङ मारेको छ ।

पछिल्लो सातासम्मको मात्रै निक्षेप संकलन हेर्ने हो भने सबैभन्दा बढी निक्षेप वृद्धि गर्ने बैंकमा नबिल बैंक देखिएको छ । नबिल बैंकले पछिल्लो एक सातामा ४ अर्ब २१ करोड रुपैयाँले निक्षेप बढाएको छ । त्यस्तै आफ्नो निक्षेपको आकारलाई २ खर्ब कटाएको छ ।

अहिले बैंककोे निक्षेप २ खर्बभन्दा बढी निक्षेप पुगेको छ । नबिल निक्षेप संकलनको हिसावले चौथो बैंक बनेको छ । यसअघि २ खर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्ने बैंकहरुमा ग्लोबल आइएमई, एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंक रहेका थिए । नबिलले यस आर्थिक वर्षको हालसम्म ८ अर्ब ३४ करोड निक्षेप बढाएको छ । यस अवधीमा नबिलले २१ अर्ब रुपैयाँ र पछिल्लो साता मात्रै ४६ करोड रुपैयाँ कर्जा विस्तार गरेको देखिएको छ ।

त्यस्तै, हरेक क्रियाकलापमा आक्रमक रुपमा देखिने एनआईसी एशियाले गतसाता १ अर्ब ३६ करोड रुपैयाँ निक्षेप बढाएको देखिएको छ । एनआईसी एशियाले गत असार मसान्तको तुलनामा ७१ अर्ब ५ करोड रुपैयाँले निक्षेप बढाएको छ । यस अवधीमा सबैभन्दा बढी ऋण बढाउनेमा एनआईसी एशिया नै अगाडि रहेको छ । यस अवधीमा एनआईसी एशियाले २ अर्ब ३२ करोड रुपैयाँले ऋण बढाएको छ । गत असारदेखि अहिलेसम्म यस बैंकले ५७ अर्ब १६ करोड रुपैयाँ ऋण बढाएको हो ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार पछिल्लो एक सातामा मात्रै वाणिज्य बैंकहरुमा २६ अर्ब ६६ करोडले निक्षेप बढेको देखिएको छ । अहिले २७ वटा वाणिज्य बैंकसँग ३७ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । जसमा स्वदेशी मुद्रामा ३६ खर्ब ४६ अर्ब र विदेशी मुद्रामा १ खर्ब ९ अर्ब निक्षेप रहेको छ ।

त्यसैगरी,बैंकहरुले हालसम्म ३१ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । जसमा स्वदेशी मुद्रामा ३० खर्ब ५४ करोड तथा विदेशी मुद्रामा १ खर्ब ६ अर्ब रुपैयाँ ऋण विस्तार गरेको संघको तथ्यांकले देखाएको छ । पुसको १० देखि १७ गतेसम्म बैंकहरुले २१ अर्ब ७० करोड रुपैयाँले ऋण विस्तार गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?