वाग्मती प्रदेश छनोट : काठमाडौं र चितवन उपाधिका लागि भिड्ने

RSS
0
Shares

काठमाडौं । काठमाडौं र चितवन यहाँ जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिताको उपाधिका लागि आज (मंगलवार) भिड्ने भएका छन् । समूह चरणको खेलमा हिजो (सोमवार) काठमाडौंले मकवानपुरलाई सात विकेटले पराजित गरेपछि समूह ‘ए’ को शीर्षस्थानमा रहँदै उपाधि भिडन्त पक्का गरेको हो । चितवन यसअघि नै समूह ‘बी’ को शीर्षस्थान कायम गर्दै उपाधिको दाबेदार बनेको हो ।

मुलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्दै निर्धारित ४० ओभरको खेलमा मकवानपुरले ३० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ७३ रन मात्र बनायो । चौहत्तर रनको विजयलक्ष्य काठमाडौंले २० दशमलव दुई ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । काठमाडौंका लागि इशान पाण्डेले अविजित रहँदै ३२ तथा जितेन्द्रसिंह ठकुरीले १४ रन बनाए ।

यसअघि ब्याटिङ गर्ने क्रममा मकवानपुरका लागि गौरव खड्काले १५ तथा युविन बुढाथोकीले १० रन बनाए । बलिङतर्फ काठमाडौंका लागि आरियो पौडेलले पाँच तथा सञ्जम रेग्मीले दुई विकेट लिए। पौडेलले सात दशमलव एक ओभर बलिङ गर्दै एक मेडन राखी १७ रन खर्चेर पाँच विकेट लिएका हुन् ।

यस्तै हिजो (सोमवार) नै सम्पन्न अर्को खेलमा भक्तपुरले नुवाकोटलाई आठ विकेटले हरायो । टस जितेर ब्याटिङ गर्दै नुवाकोटले ३८ ओभरमा सबै विकेट गुमाउँदै १३५ रन बनायो । नुवाकोटका लागि कप्तान राजेश रिमालले ३६, प्रदीप परियारले १६, आयुश बस्नेतले २१, अभिराज यादवले १४ बनाए । बलिङतर्फ भक्तपुरका लागि कृष कार्की, सुवास खत्री र सुसान श्रेष्ठले दुई-दुई विकेट लिए ।

एक सय ३६ रनको विजयी लक्ष्य भक्तपुरले ३२ दशमलव दुई ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । भक्तपुरका लागि नवीन यादव र अदित सुवेदीले ६०-६० रन बनाए । बलिङतर्फ नुवाकोटका लागि सकर रावत र अभिराज यादवले एक-एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?