५० राउण्ड गोलीसहित प्लेन चढ्न खोज्दा…

काठमाडौँ– त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ५० राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

विमानस्थलको आन्तरिक उडानतर्फको क्षेत्रबाट लुगर ९ एमएम लेखिएको ५० राउण्ड गोलीसहित झापा मेचीनगर नगरपालिका–२ का २० वर्षीय बद्रि हाङ् राईलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनी श्री एयरलाइन्सको उडानबाट झापाको भद्रपुर जान लागेका बेला विमानस्थलस्थित आन्तरिक उडानतर्फको एक्सरे यन्त्रबाट जाँच गर्ने क्रममा गोली भेटिएको थियो ।

झोलाभित्र पत्रिकामा पोको पारेको अवस्थामा गोली बरामद गरिएको थियो । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?