डेपूटी गभर्नर नियुक्ति : सधैँ शक्तिकेन्द्रकै वरिपरि !

लोकपथ
0
Shares

कमला अर्याल/ काठमाडौँ – नेपाल राष्ट्र बैंकको दोस्रो शक्तिशाली पद डेपूटी गभर्नरका लागि दौडधुप शुरु भएको छ ।

बहालवाला डेपूटी गभर्नरद्वय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठको पाँच वर्षे कार्यकाल आगामी फागून १८ गते सकिँदैछ । डेपूटी गभर्नरद्वय शिवाकोटी र श्रेष्ठ बाहिरिएपछि ती दुवै पद रिक्त हुँदैैछन् । ती पदमा नियुक्ति पाउनका लागि राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुले दौडधुप थालेका हुन् ।

डेपूटी गभर्नरको पद राष्ट्र बैंकको वरियतामा दोस्रो आकर्षक पद हो । त्यस पदमा नियुक्ति पाउनु त्यति सजिलो भने छैन । राष्ट्र बैंकमा कार्यरत १७ जना कार्यकारी निर्देशक सबै डेपूटी गभर्नरका प्रत्यासी हुन् । तर वरियता तथा कार्यक्षमताका आधारमा नियुक्ति गर्ने कानूनी व्यवस्था भएपनि राजनीतिक आधारमा डेपूटी गभर्नर नियुक्ति गर्ने गरिन्छ । त्यसैले डेपूटी गभर्नरमा नियुक्ति पाउन क्षमता भन्दा पनि राजनीतिक सक्रियता तथा नजिकपनाले महत्वपूर्ण भूमिका खेल्छ ।

राष्ट्र बैंकका गभर्नर तथा डेपूटी गभर्नर विशुद्ध राजनीतिक नियुक्ति हो । त्यसकारण त्यस पदका लागि सिफारिसमै पर्नु पनि ठूलो कुरा मानिन्छ । त्यसैले आकांक्षीहरुले सिफारिसमा पर्न गभर्नर रिझाउन थालेका छन् । किनकी डेपूटी गभर्नरको नाम सिफारिस गरेर गभर्नरले नै सरकारलाई पठाउने कानूनी व्यवस्था छ ।

गभर्नरले रिक्त पदको दोब्बर संख्यामा विशिष्ट श्रेणीका अधिकृतहरुमध्येबाट नामावली सिफारिस गर्नुपर्ने राष्ट्र बैंक ऐनमा व्यवस्था गरिएको छ ।

सोही व्यवस्था अनुसार गभर्नरले ४ जनाको नाम सिफारिस गर्नेछन् । गभर्नरले सिफारिस गरेको नामबाटै मन्त्रिपरिषद् ले ५ वर्षे कार्यकालका लागि २ जना डेपूटी गभर्नरको नियुक्ति गर्ने व्यवस्था छ । त्यसैका लागि अहिले गभर्नर देखि राजनीतिक शक्तिलाई रिझाउने काम भइरहेको छ ।

राष्ट्र बैंक ऐनमा गभर्नरले कार्यक्षमताका आधारमा डेपूटी गभर्नरका लागि सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि राजनीतिक शक्तिकै आडमा नियुक्ति गरेको देखिन्छ ।

बहालवाला डेपूटी गभर्नरद्वय शिवाकोटी र श्रेष्ठ पनि राजनीतिक भागबण्डाका आधारमा नै नियुक्ति भएका थिए ।

सरकारमा रहेको पार्टी निकट सिनियर र विपक्षी पार्टी निकट जुनियर डेपूटी गभर्नरका रुपमा नियुक्ति गर्ने अभ्यास गरिँदै आएको छ । जसमा यसअघि नेकपा एमाले एकिकरण पूर्व सरकारमा रहेका बेला सो पार्टी निकट शिवाकोटी सिनियर र विपक्षी पार्टी नेपाली कांग्रेस निकट श्रेष्ठ जुनियर डेपूटी गभर्नरका रुपमा नियुक्ति भएका थिए । वरियता र कार्यक्षमताका आधारमा शिवाकोटी भन्दा श्रेष्ठ सिनियर थिए । तर राजनैतिक शक्तिका कारण शिवाकोटी सिनियर भए ।

अहिले विशिष्ट श्रेणीका ४ जना अधिकृतहरुको नामावली सिफारिस गर्दा कार्यकारी निर्देशकहरु भुवन कँडेल, देवकुमार ढकाल, नेफिल मताङ्गी मास्के र निलम ढुंगाना तिम्सिना अग्र पंक्तिमा छन् ।

वरियता र कार्यक्षमताका आधारमा भनिए पनि राजनीतिक नियुक्ति भएकाले १७ जना मध्ये जो कोही पनि डेपूटी गभर्नरका रुपमा आउन सक्ने सम्भावना रहन्छ ।

अहिले सरकारमा नेकपा छ । सरकारका अर्थमन्त्री विष्णु पौडेलका सल्लाहकारका रुपमा अर्थमन्त्रालयमा कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ छन् । उनी अर्थमन्त्रीका विश्वासिला पात्र हुन् ।

सोही आधारमा पनि कार्यकारी निर्देशक श्रेष्ठको सम्भावना बलियो रहेको तथा उनी सिनियर डेपूटी गभर्नर बन्ने लगभग पक्का जस्तै भएको चर्चा बजारमा चल्न थालेको छ । त्यस्तै सरकार निकट मानिएका देवकुमार ढकाल र निलम ढुंगाना तिम्सिना वरियतामै पर्छन् । यी दुई कार्यकारी निर्देशक सिफारिस हुन सक्ने प्रबल सम्भावना छ । बैंक तथा वित्तीय संस्था नियमन विभाग सम्हालेका ढकाल पनि उत्तिकै संभावना भएका व्यक्तिको सूचीमा पर्छन् । साथै प्रतिस्पर्धामा एक महिला पनि रहेकाले महिलालाई अवसर दिन चाहे निलम ढुंगाना पनि डेपूटी गभर्नरका रुपमा आउन सक्ने बलियो सम्भावना छ ।

के हुन्छ राजनीतिक भागबण्डा ?

डेपूटी गभर्नर नियुक्ति राजनीतिक भागबण्डाका आधारमा गरिँदै आएको छ । बहालवाला डेपूटी गभर्नर शिवाकोटी र श्रेष्ठ पनि पार्टीगत भागबण्डाका आधारमा नियुक्ति भएका थिए ।

शिवाकोटी सरकारमा रहेको नेकपा एमाले(तत्कालीन) निकट सिनियर र श्रेष्ठ विपक्षी पार्टी नेपाली कांग्रेस निकट जुनियर डेपूटी गभर्नरका रुपमा नियुक्ति भएका थिए । त्यसअघि पनि सरकारमा नेपाली कांग्रेस थियो । जतिबेला सरकार निकट गोपाल काफ्ले सिनियर र विपक्षी पार्टी तत्कालीन नेकपा एमाले निकट वर्तमान गभर्नर महाप्रसाद अघिकारी जुनियर डेपूटी गभर्नरको रुपमा नियुक्त भएका थिए ।

यसपाली पनि कांग्रेस निकट डा. गुणाकर भट्ट प्रतिस्पर्धामा रहेको देखिन्छ । उनी राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख हुन् । कार्य क्षमताका आधारमा उनलाई कुशल मानिन्छ । भट्ट अहिले राष्ट्र बैंकको प्रवक्ता समेत हुन् ।

एक पूर्व गभर्नरका अनुसार पार्टीगत भागबण्डामा डा. भट्टको सम्भावना बलियो छ । तथापी कानूनले वरियता र कार्यक्षमता भनेपनि राजनीतिक मनसायमा भर पर्ने भएकाले १७ जना कार्यकारी निर्देशक नै डेपूटी गभर्नरका प्रतिस्पर्धी हुन् ।

डेपूटी गभर्नरका प्रतिस्पर्धीहरु अहिले गभर्नर, अर्थमन्त्री, प्रधानमन्त्री तथा पार्टीका नेताहरु रिजाउन दौडधुप गरिरहेका छन् ।

बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्री, विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र तथा बैंकिङ विभागका कार्यकारी निर्देशक नरेश शाक्य लगायतको चर्चा पनि कम छैन । उनीहरुले पनि गभर्नर तथा राजनीतिक पार्टी रिजाए भने डेपुटी गभर्नर बन्न सक्छन् ।

त्यसैगरी कार्यकारी निर्देशकहरु रिषिकेश भट्ट, पिताम्बर भण्डारी, प्रदिपराज पौडेल, विश्रुत नेपाल, सुमनकुमार अधिकारी, राम बहादुर मानन्धर, रेवतीप्रसाद नेपाल, रामु पौडेल पनि डेपुटी गभर्नरका दबेदार हुन् ।

गभर्नर अधिकारीलाई रिझाउन सके जो कोही पनि डेपूटी गभर्नरका लागि सिफारिसमा पर्न सक्ने सम्भावना छ ।

डेपूटी गभर्नरका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने राष्ट्र बैंक ऐनमा व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?