धरहराको २० औँ तलाबाट काठमाडौं नियाल्दा…. (भिडियो)

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको अन्तरविरोधसँगै रानीपोखरी र धरहराको चर्चा चुलिएको छ । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ट नेता माधव नेपाल पक्षले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै अर्का वरिष्ट नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले रानीपोखरी कालीगढले बनाएको र धरहरा इन्जिनियरले बनाएको बताएपछि यसको चर्चा चुलिएको हो ।

नेता खनालको यो अभिव्यक्ति सामाजिक संजालमा निकै भाइरल बनेको थियो । यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा ईन्जिनियरको नाप-नक्साका डकर्मी बनाएको भन्दै खनाललाई जवाफ दिएका थिए । प्रधानमन्त्री ओलीले व्यंग्य गर्दै रानीपोखरी र धरहरा आफूले नबनाएपनि आफ्नो कार्यकालमा बनाएको बताएका थिए । प्रधानमन्त्री ओलीले अबको केही महिनाभित्र २२ तले धरहराबाट काठमाडौं नियाल्न सक्ने समेत बताएका थिए ।

२०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको काम अहिले धमाधम भईरहेको छ । अहिले धरहरा पुनर्निमाणको २१ औं तलाको काम भईरहेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशिल ज्ञवालीका अनुसार २० औं तलामा निर्मित बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् ।

कुल २३ तला रहने धरहरा परिसर भित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माणको काम पनि द्रुत गतिमा भइरहेको छ । त्यसबाहेक टक्सार संग्राहलय, भूकम्प संग्राहलय लगायतको संग्राहलय रहने भवनको निर्माण कार्यपनि तिब्र गतिमा भइराखेको छ ।

जमिन मूनीको दुईतलाबाट लिफ्ट प्रयोग गरी २० औं तलासम्म जान मिल्ने गरी तयार पारिएको ढाँचामा धरहराको पूनर्निर्माण भइरहेको छ । प्राधिकरणका सिइओ ज्ञवालीले यसै आर्थिक वर्ष भित्रैमा काम सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढेको बताएका छन् । आगामी असार मसान्त सम्म मुलभुत कामहरु सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिने ज्ञवालीले बताए ।

प्राधिकरणको समयावधि आगामी वर्षको पुष १० गते सम्म भएकाले आगामी असार मसान्त सम्म सबै क्षेत्रको पुनर्निर्माणको आधारभूत काम सम्पन्न गर्ने र बाँकी काम सम्बन्धित निकायलाई जिम्मा लगाउने उनले बताए । असार मसान्तपछिको समय भने अहिलेसम्म प्राधिकरणले गरेका कामहरुको अडिट गर्न लाग्ने पनि सिईओ ज्ञवालीले बताए ।

धरहराको कुल लागत भ्याट सहित ३ अर्ब ४५ करोड रुपैयाँ छ । धरहराको कूल क्षेत्रफल ४२.२ रोपनी रहेको छ ।
पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहरा थप चौडा हुनेछ । यहाँ दुई लिफ्ट रहने छन् । साथै एउटा परम्परागत भ¥याङ पनि हुनेछ । आगन्तुकले दुईमध्ये एक रोजेर प्रयोग गर्न सक्छन् । बयालीस रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी कक्ष, पुस्तकालय, पार्किङस्थल, रेष्टुराँ र व्यापारिक पसलसमेत हुनेछन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले २०७७ असोज २० गतेभित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नेगरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो । त्यस लगत्तै रमन कन्सट्रक्सनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो । कोभिड १९ को कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरेपनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले ९ महिना समय थपेको थियो ।

धरहराको प्रधानमन्त्री ओलीले विधिवत् रुपमा २०७५ पुस १२ गते उद्घाटन गरेका थिए ।

प्रस्तुत छ, धरहराको विषयमा तयार पारिएको भिडियो रिपोर्ट

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?