प्रधानमन्त्री ओलीको अस्त्र: महिलाको किड्नी र कोखदेखि श्रद्धाञ्जलीको अपेक्षासम्म (भिडियो)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अन्तरविरोधसँगै एकअर्काबीच हिलो छ्यापाछ्याप गर्ने क्रम जारी छ ।

आइतवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आफू पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)केन्द्रीय कमिटीद्धारा आयोजित उपत्यका स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै  प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ लगायतलाई व्यंग्यवाण प्रहार गरे ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले आफ्नो किड्नीको विषयमा टिप्पणी गर्नेहरूदेखि जीवित सहकर्मीलाई ‘श्रद्धाञ्जली दिन हुन्थ्यो’ सम्म भन्न चुकेनन् ।

उनले भने, “केपी ओलीले महिलाको किड्नी लाएर दिमागै बिग्रियो भनेछ । महिलाको किड्नी लगाएर दिमाग बिग्रियो भने महिलाको कोखबाट जन्मिएको त्यो मान्छे पहिलै नै झन् के होला ? म त्यतापट्टि जान चाहन्न । महिलामाथिको कत्रो अपमान हो, महिलाको त किड्नी लगाएमात्रै पनि मान्छे पागल हुन्छ रे । त्यो दिन बेलुका तिनलाई श्रीमतीले कसरी खाना दिइन् होला अचम्म लाग्छ । वरिपरि झ्याल खोलेर हेर्ने महिला दिदीबहिनीलाई अनुहार कसरी देखाए होला अचम्म लाग्छ मलाई ।”

त्यस्तै प्रधानमन्त्रीले अर्को एक प्रसंगमा भने, “म पहिलोपटक प्रधानमन्त्री भएको बेला मलाई हटाउन अविश्वासको प्रस्ताव सुनाएपछि मैले अंग्रेजीमा भनेको थिए, दिस इज नट द इन्ड अफ टाइम । दिस इस कन्टिनियस प्रोसेस एड वी आर हियर डोन्ट फर्गेट  । समय अन्त्य भएको छैन चालू छ, हामी यहीँ छौँ भन्ने कुरा नबिर्स मैले त्यो भन्या थिएँ । त्यसको नक्कल गरेर अस्ति त्यसको पीडा पोखेर हामी यहाँ छौँ भनेर लेखेछन् । मैले त्यही बस्दै गर्नुस् भन्याथेँ फेरि हिँड्नुभएछ । मलाई पनि केन्द्रीय समितिका साथीहरु कहाँ जानुभएछ भन्ने परेको थियो, हामी यहाँ छौँ भनेर बस्नुभएछ । ढुक्क भयो ए त्यहाँ मण्डलामा रहेछन् है साथीहरु । हराएछन् कि साथीहरु भन्ने पीर थियो त्यहाँ रहेछन् है साथीहरु । बस्दै गर्नुस् ।”

प्रधानमन्त्री ओलीको यो सम्वोधन आलोचित बन्यो । प्रधानमन्त्री ओली आफ्नै जीवित सहकर्मीहरूलाई श्रद्धाञ्जली दिने अपेक्षा व्यक्त गरे । उनले भने, “म भन्न चाहन्छु, तपाईहरु नहुँदा तपाईहरु शहिद भएको भए, शहिद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो । तपाईहरु शहिद त हैन । अब तपाईहरुलाई कार्यक्रममा स्मरण गरिरहन आवश्यकता पनि छैन् । खाली तपाईहरुले धुलो उढाएको ठाउँमा हामीले पानी छर्कनुपर्छ । तपाईहरुले दुर्गन्ध फैलाउनुहुन्छ अलिकति हामीले त्यहाँ अत्तर छर्किनुपर्छ ।”

प्रस्तुत छ, प्रधानमन्त्री ओलीको सम्वोधन समेटिएको भिडियो सामग्री 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?