बेलायतमा ह्वात्तै बढ्यो कोरोना संक्रमित, मृतकको संख्या ७५ हजार नाघ्यो

काठमाडौँ– बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार नाघेको सरकारी तथ्यांकमा उल्लेख छ । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयरले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थप ४५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

एकसाताभित्र मात्रै चार हजार दुई सय भन्दा बढीको कोरोना संक्रमितको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७५ हजार २४ जना पुगेको छ । आइतबार सार्वजनिक हुने मृतक संख्या गतवर्ष अप्रिल पछिकै सबैभन्दा बढी भएको बताइएको छ ।

सामान्यतया वीकेन्डमा सार्जवनिक गरिने तथ्यांक अन्य दिनहरुको तुलनामा केहि कम हुने गर्दछ । यसैगरी कोरोना संक्रमितको संख्या पनि तीव्र रुपमा बढिरहेको छ । पछिल्ला ६ दिनमा संक्रमितको संख्या ५० हजार भन्दा बढी रहँदै आएको छ ।

गएको २४ घन्टामा थप ५४ हजार ९९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्ला दिनका संक्रमित संख्या बेलायतमा महामारी शुरु भएयताकै सबैभन्दा बढी हो । बेलायतमा कोरना संक्रमितको संख्या २६ लाख ५४ हजार ७७९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?