‘अध्यक्ष, वरिष्ठ नेताहरु सबैको कुर्सी यथावत् छ, आउनुहोस्’- प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकाङ्क्षा छाडेर देश बनाउने अभियानमा लाग्नेका लागि आफूले नेतृत्व गरेको नेकपामा अझै ठाउँ रहेको बताएका छन् ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आज यहाँ आयोजना गरेको बृहत् भेलामा उनले महत्वाकाङ्क्षी प्रवृत्ति छाडेर देश बनाउने अभियानमा संलग्न हुन आग्रह गरे । उनले भने, “अर्का अध्यक्ष, वरिष्ठ नेताहरु सबैको कुर्सी यथावत् छन् । पार्टीका बैठकमा सहभागी नभए पनि देश बनाउने अभियान अघि बढ्न आग्रह गर्दछु ।”

आफूले पार्टी र देशका हितमा काम गर्दागर्दै पनि त्यसको विषयमा कहिले नबोलेर हटाउने प्रयास निरन्तर भएको प्रधानमन्त्री ओलीको भनाइ छ । आफूले नाकाबन्दीको सामना गरेको र गुमेको भूमि फिर्ता गर्नका लागि संविधान संशोधन गरेको उनले बताए । यही सरकारले नै चीनसँग नाका खोलेको र भारतसँगको सम्बन्ध माथि उठाएको प्रधानमन्त्री ओलीले बताए ।

पहिलो महिला राष्ट्रपति तथा लोकतन्त्रको लडाइँबाट आएको व्यक्तिको इज्जतमाथि धावा बोल्दा पनि नेताले मन्दमुस्कानसहित ¥यालीमा सहभागी भएको उनको भनाइ छ । गत वैशाखदेखि पुससम्ममा आफ्नो विरुद्धमा ३१५ पटक बैठक बसेको पाइएको, तीमध्ये २८० बैठक खुमलटार, ३५ कोटेश्वर र अरू होटेलमा बसेको उनले उल्लेख गरे ।

उनले परिचयपत्र देखाएरभन्दा व्यवहार र बोलीबाट अनेरास्ववियु चिनिनुपर्नेमा जोड दिए । गाडीमा ज्येष्ठ नागरिकलाई सिट छाड्ने, सबै जात र वर्गलाई सम्मान गरेर आफूलाई चिनाउन उनले अनुरोध गरे । उनले भने, “तपाईंलाई अरू सबैले हेर्दा मीठो बोली, आकर्षक व्यवहार, देशभक्तिको भावना र राष्ट्रवादी चिन्तनबाट चिन्नुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?