१४ वर्षमै ग्लोबल आईएमईको व्यवसायीक छलाङ : पूँजीगत रुपमा बलियो बन्दै

कमला आर्याल / काठमाडौं । ग्लोबल आइएमई बैंकले स्थापनाको १४ औँ वर्षमा व्यवसायिक छलाङ मार्न सफल भएको छ ।

ग्लोबल आईएमई बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई आफूमा मर्ज गरेर अहिले मुलुककै सबैभन्दा ठूलो बैंकको रुपमा कारोबार गर्दै आएको छ । यो बैंक गत शनिवारदेखि स्थापनाको १४ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो समयमा नै बैंकले पूँजी, व्यवसाय, शाखा र सञ्जाल लगायतका क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ ।

बैंकले पछिल्लो समय विग मर्जर (ग्लोबल आईएमई र जनता ) गरेर मर्जरको प्रक्रियालाई पूर्ण रुपमा आत्मसात गरेको छ । जनता बैंक समेत गरी ग्लोबल आईएमईले एक दर्जनको हाराहारीमा बैंक बैंक तथा वित्तीय संस्थालाई मर्ज गरेको छ ।

ग्लोबल आईएमईमा जनता गाभिएपछि ग्लोबल आइएमई बैंक सबै भन्दा ठूलो बैंकको रुपमा स्थापित भएको हो । जनतालाई मर्ज गरेपछि पूँजीगत, निक्षेप तथा जगेडा कोष तथा लगानीका हिसाबले बैंक सबै वाणिज्य बैंक भन्दा ठूलो र बलियो भएको छ ।

यस बैंकले हालसम्म साना ठूला गरी विभिन्न ११ वटा बैंक तथा वित्तीय संस्थालाई मर्ज गरिसकेको छ । मर्ज हुने जनता १२ औं बैंक हो । सफल मर्जरका कारण सञ्चालनमा आएको १४ वर्षमै ग्लोबल आइएमई सबैभन्दा ठूलो बैंक बन्नुका साथै व्यवसायीक रुपमा पनि सबै भन्दा अगाडि रहेको छ । त्यस्तै, बैंकले कमर्ज एन्ड ट्रस्ट बैंकलाई गाभेपछि ०६९ असार २५ गते ग्लोबलले लर्डबुद्ध र आइएमई फाइनान्सलाई पनि मर्ज गरेको थियो । २०७४ असार २५ मा रिलायबल डेभलपमेन्ट बैंकलाई पनि ग्लोबलले प्राप्ती गरेको थियो । बैंकले रिलायवल डेभलपमेन्ट बैंक, सोसियल डेभलपमेन्ट बैंक, प्यासेफिक डेभलपमेन्ट बैंक, आईएमई फाइनान्स, लर्डबुद्ध फाइनान्स लगायत झण्डै एक दर्जन बैंक तथा वित्तीय संस्था आफूमा मर्ज गरिसकेको छ ।

हाल बैंकको चुक्ता पुँजी १९ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । (प्रस्तावित १४५ बोनस प्रश्चात करिब २१ अर्ब भन्दा बढी) र संचित कोष गरी प्राथमिक पूँजी २७ अर्ब २४ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । बैंकको कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपैँया र कुल कर्जा २ खर्ब ११ अर्ब रुपैँया भन्दा बढी पुग्ने बैंकले जनाएको छ । त्यसैगरी, बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु-याउने लक्ष्य राखेको छ । सो लक्ष्य अनुसार बैंकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको शखा पर्‍याइसकेको छ । हालसम्म बैंकका २६४ शाखा,२४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, १ सीडीएस क्लियरिङ काउण्टर,२३ राजश्व संकलन काउण्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय गरी झण्डै ७ सय ९७ सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

रेमिट्यान्स भित्र्याउन महत्वपूर्ण योगदान

ग्लोबल आइएमई बैंकले विश्वका विभिन्न मुलुकहरुबाट रेमिट्यान्स भित्र्याउने काममा पनि निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । बैंकले अमेरिका, अष्ट्रेलिया, मलेसिया,जापान,दक्षिण कोरिया,साउदी अरेबिया, जोर्डन, दुवई,कतार,कुबेत,बहराइन र भारत लगायतका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्याएर मुलुकको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?