नहाैँला सँगै आज तँ र म, तर तेरो सम्झना यो मनमा छ…

नहाैँला सँगै आज तँ र म, तर तेरो सम्झना यो मनमा छ

साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै तर साथी निकै एक्लो छु अहिले…

चर्चित र्‍यापर यमबुद्धले ड्रग्सको कारण ज्यान गुमाएका आफ्ना साथीलाई सम्झेर गाएको गीत हो यो ।

‘साथी’ नामको उक्त गीतले नेपाली हिपहप जगतमा एउटा हलचल नै ल्याएको थियो । उनको गीतहरु सुन्दा लाग्छ उनले समाजमा चलिरहेका विकृति, सामाजिक भेदभाव, गरिबी सबैलाई टपक्क टिपेर गीतमा राख्छन् ।

गीतका हरेक शब्द मुटुमै बिझ्ने खालका । यम आम र्‍यापरभन्दा भिन्नै थिए । यो कुरा उनका आमा, यो प्रसंग, योद्धा, असारको भेल, दिदीजस्ता बहुचर्चित गीतहरुले स्पष्ट पारिसकेका छन् ।

Voice of a generation

साथी गीतमा उनले भनेका छन्ः

जित्नुभन्दा ठूलो कुरा हिम्मत नहार्नु हो
त्यसैले लड्दै छु संघर्ष गर्दै छु…

जिन्दगीबाट हार खाएका हजारौँ युवालाई यो गीतले ऊर्जा दिएको थियो । तर किन हो यमबुद्धले चाहिँ हिम्मत हारे । यमबुद्धले आफ्नो परिवार र सारा नेपालीलाई आँशुमा डुबाएर यस संसारबाट बिदा भए ।

आजभन्दा चार वर्षअघि आजकै दिन अर्थात् २०७३ माघ १ गते उनले आफ्नो कथामा आफैँ पूर्णविराम लगाए । लन्डनस्थित आफू बसेको घरको बाथरुमको डण्डीमा पेटीले बाँधेर झुन्डिएको अवस्थामा उनले प्राण त्यागे । उनको मृत्युका कारणबारे अनेक अड्कलबाजी भए, हल्ला चले ।

यमबुद्धको मृत्यु कसरी भयो ? उनले आत्महत्या गरेका हुन् या षड्यन्त्रपूर्वक हत्या गरिएको हो ? यो प्रश्नको उत्तर उनले आफूसँगै लिएर गए । उनको आत्महत्या पछि कुनै सुसाइड नोट भेटिएन । मृत्यु भएको केही दिनपछि उनको शव नेपाल ल्याइ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।

उनको शवलाई फूलमाला अर्पण गर्न हजारौँको संख्यामा मानिसहरु पशुपति आएका थिए । २९ वर्षीय कलिलो उमेरमा यमको शरीर खरानी भयो ।

संसारभर फैलिएका लाखौँ फ्यानहरुको मनमा पनि आगो दन्कियो । बेचैनी बढ्यो । संसारभर छरिएका उनका प्रशंसकको आँखा रसायो ।

यमबुद्धको परिवारले राखिदिएको नाम अनिल अधिकारी । उनले यमबुद्ध नाम आफैँले राखेका हुन् । ‘यम’ अर्थात् हिंसाको प्रतीक । ‘बुद्ध’ चाहिँ शान्तिको । समाजमा दुवैथरी चरित्र थियो, सायद उनमा पनि । त्यसैले उनले आफ्नो नाम यमबुद्ध राखे ।

यमबुद्धलाई ‘अमर’ बनाउने अर्को महत्वपूर्ण कुरा हो र्‍याप ब्याटल । गाँउ–गाँउबाट नयाँ–नयाँ र्‍यापर आउनुपर्छ भन्ने यमबुद्धको चाहना थियो । हाल नेपालको र्‍याप जगतलाई डोहोर्‍याउँदै गरेका युनिक पोइट, साकार, बालन इजी ट्वेल्भ लाहुरेहरुलाई यमबुद्धले नै मार्ग देखाएका हुन् ।

मर्नुभन्दा तीन दिनअगाडि मात्र उनले मलामी शीर्षकको गीत सार्वजनिक गरेका थिए । सुन्दा लाग्छ उनले आफैले आफ्नो लागि गाएको मृत्यु गीत हो यो ।

गीतमा भनिएको छ :

हे आमा म यो कस्तो गीत गाउँदै छु
थकित भएर स्वर्गको ढोका ढक्ढकाउँदै छु…

नरुनु तिमी मेरो शरीर आगोमा रन्कँदा
चिसा लुगा लिएर मलामी ती फर्कँदा…

यम बुद्धले बेलायतस्थित ससुराली घरको बाथरुममा झण्डिएर गरेको ‘आत्महत्या’ माथि विभिन्न कोणबाट विश्लेषणात्मक प्रश्नहरु समेत उठेको थियो । राति ड्युटीबाट फर्किएपछि श्रीमतीसँग बसेर वाइन खाएको र सँगै सुतेको भए पनि उनको शव बिहान बाथरुम जाँदा भेटिएको थियो । श्रीमतीले किन थाहा पाइनन् ? जस्ता अनेक प्रश्नहरु उठे ।

घटनाबारे यम बुद्धका बुबा अम्बिकाप्रसाद अधिकारी र आमा उर्मिला अधिकारी ले भनेका छन् यमले आत्महत्या गरेको होइन भन्ने केही प्रमाण हामीसँग छ । त्यतिबेलामा लण्डनमा पहुँच नपुगेर हामीले एक्सन लिन सकेनौँ । अहिले दोषीलाई समातेर थुन्दैमा हाम्रो छोरो फर्केर आउँदैन भन्ने लागेर मौन बसेका छौँ ।’

उनले साथीका लागि गाएका गीत आजभोलि उनका फ्यानहरुले उनलाई नै ‘डेडीकेट’ गर्ने गरेका छन् ।

तेरो याद आयो अनि सम्झेर बस्दै छु

हामी फेरि भेट्ने छौँ भनि दिन गन्दै छु…

यम बुद्धका डाइहार्ड फ्यानहरुले बिहानैदेखि उनको फोटो सेयर गर्दै त्यो दिन सम्झन नचाहेको कुरा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?