लगानीमैत्री वातावरण बनाउन निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा नहेर्दासम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताएका छन् ।

आइतवार (आज) बागलुङ बजारमा आयोजित बागलुङ उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले यस्तै नीतिका कारण मलेशियाले छोटै समयमा विकास गरेका नमूनाहरुका उदाहरणहरु प्रस्तुत गर्दै जबसम्म राज्यले निजी क्षेत्रलाई व्यावसायिक पार्टनरको रुपमा नलिएसम्म निजी क्षेत्रको लगानी विस्तार हुन नसक्ने बताए । आइएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र सम्मृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए ।

राज्यले निजी क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै लगानी सम्भावनाहरु भए पनि निजी क्षेत्रको लगानी आउन नसक्ने उनको भनाई थियो । ‘राज्यको परम्परागत नियम, कानुन र दृष्टिकोणले व्यवसायीहरुलाई सहजीकरण भन्दा पनि निरुत्साहित गरेको देखिएको छ ।’ वरिष्ठ उपाध्यक्ष ढकालले भने ।

व्यवसायी जति सबै नाफाखोर मात्र हुन् भन्ने तथा व्यवसायीले राज्यसँग लगानी या व्यवसायमैत्री वातावरण या आफ्नो व्यवासायिक सुरक्षा आदिको माग गर्दा कुनै व्यक्तिका लागि मागे जस्तो व्यवहार गर्ने जस्ता परम्परागत दृष्टिकोणहरु अहिले पनि कायमै रहँदा देशमा उद्योग तथा व्यवसायका क्षेत्रमा सहज वातावरण बन्न नसकेको उनको धारणा थियो ।

हाल देशमा पूँजीका कारण कुनै व्यवसाय गर्न नसक्ने अवस्था नरहेको उनले बताए । कुनै एक सानो कम्पनीको आइपिओ खुल्दा पनि १० गुणा, २० गुणासम्म बढी आवेदन पर्दछ । यसैबाट जनतासँग छरिएर रहेको पूँजी धेरै छ, त्यसलाई एकतृत गरेर लगानीमा लगाउनु पर्ने आजको आवश्यकता रहेको उनको धारणा छ ।

उनले नेपालमा पूँजीको अभावमा नभएर वातावरण र अग्रसरताको अभावमा लगानी बढ्न नसकेको बताए । त्यसैकारण महासंघको वर्तमान नेतृत्वले देशमा सानादेखि कर्पोरेट तहमा लगानीको वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउने काममा सहजीकरण गर्ने ढकालले बताए । त्यस्तै उनले महासंघका देशैभरिका जिल्ला नगरका समस्याहरु एकै खालका रहेका र आफूले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको यात्राका क्रममा यस्तै गुनासा र समस्याहरु सुन्ने गरेकाले ती समस्याको समाधानका लागि देशका स्थानीयदेखि प्रदेश सरकारको ध्यान दिनुपर्ने बताए ।

‘जस्तो कि कतै गृह प्रशासन, कतै राजश्व प्रशासन आदिका समस्या छन्, जिल्ला नगरस्तरका साना व्यवसायीहरुमा परेका यी समस्याको समाधानमा महासंघले स्थानीय स्तरमा समन्वयात्मक रुपमा लाग्नेछ ।’ वरिष्ठ उापाध्यक्ष ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?