बैंकको ज्यादतीविरुद्ध एकजुट हुँदै उद्योग व्यवसायी, बैंकर्स संघले छलफल गर्ने

काठमाडौं ।  ‘कोभिड – १९’ को महामारीबाट संकटमा परेका व्यवसायीलाई बैंकले दुःख दिएको भन्दै बैंकको ज्याजति विरुद्ध व्यवसायी एक जुट भएका छन् ।

संकटका बेलाको समय पारेर बैंकले उद्योगी व्यवसायीलाई जबरजस्ती ऋण तिर्न लगाउने, कालो सूचीमा राख्ने लगायत ज्याजति गरेको भन्दै यस विषयमा गम्भीर ध्यानाकर्षण भएको उद्योग व्यवसायी महासंघले जनाएको छ ।

महासंघका नवनिर्वाचित उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुले नेपाल राष्ट्र बैंकको निर्देशन समेत नमानेर उद्योग व्यवसायीलाई दुःख दिएको बताए । ‘बैंकको ज्याजति अति भएको छ ,यस विषयमा छलफल हुँदैछ ।’ उनले भने । महासंघमा औपचारिक रुपमा यस विषयमा छलफल नभए पनि विभिन्न जिल्लाहरुबाट गुनासो आउने गरेको र महासंघले पनि यस विषयमा छलफल गर्ने तयारी गरेको उपाध्यक्ष श्रेष्ठले बताए ।

बैंकले व्यवसायीलाई दिएको अनावश्यक दुःखका व्यवसायमा राष्ट्र बैंकलाई समेत पत्र पठाएको उनले बताए ।

बैंकको ज्यादती यसरी नै बढ्दै गयो भने आन्दोलन गर्नुपर्ने समय पनि आउन सक्ने उनको भनाई छ । ‘अब महासंघ कडा रुपमा प्रस्तुत हुन्छ ।’ उपाध्यक्ष श्रेष्ठले भने ।

कोरोना महामारीका कारण कतिपय उद्योगी व्यवसायीहरु पलायन भएको तथा पलायन हुने अवस्थमा बैंकले नीति विपरित ऋणीहरुलाई कालो सूचीमा राखेकोमा उनले आक्रोश पोखे । ‘एकतर्फी ढंगले कालो सूचीमा राखिएको छ ।’ उनले भने । त्यसका साथै लकडाउन खुलेको केही समयमै फोन गरेर ऋणको किस्ता तिर्न दबाब दिएको उनले बताए । श्रेष्ठ उद्योग वाणिज्य महासंघका जिल्ला नगरतर्फका उपाध्यक्ष हुन् ।

राष्ट्र बैंकको नियम अनुसार पनि असारसम्म कर्जाको किस्ता तथा ब्याज भुक्तानी गरेका ऋणीहरुलाई बैंकले अहिले अनाश्यक दबाब दिइरहेका छन् । बैंकहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्ने बेला भएको छ ।

दोस्रो त्रैमासमा धेरै नाफा देखाउन बैंकहरुले उद्योग व्यवसायीलाई दबाब दिइरहेको उनको ठहर छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षमा गर्दै ऋणीका विषयमा प्रस्ट व्यवस्था गरेपनि बैंकहरुले त्यसलाई नमानेको व्यवसायीको ठहर छ ।

बैंकहरुले भने कोरोनाका कारण अति प्रभावित क्षेत्रमा परेका होटल रेष्टुरेन्ट, पर्यटन, यातायात, वैदेशिक रोजगार लगायतका क्षेत्रमा प्रवाह भएको कर्जा उठाउन पनि बैंकले त्यस्तै दबाब दिइरहेको व्यवसायीको गुनासो छ ।

के भन्छ बैंकर्स संघ ? 

नेपाल बैंकर्स संघले राष्ट्र बैंकको व्यवस्था अनुसार नै गर्न बैंकहरुलाई निर्देशन दिएको संघका अध्यक्ष भुवन दाहालले बताए । साथै संघमा बैंकर्स र उद्योग व्यवसायीको समिति छ । यदि कुनै उद्योग व्यवसायीलाई कुनै समस्या भए संघमा उजुरी गर्न उनले आग्रह गरे ।

त्यस्तै,उपाध्यक्ष अनिलकुमार उपाध्यायले कोरोना शुरु हुनुभन्दा अगाडिका पूराना तथा भाका नाघेका ऋणीहरुसँग मात्रै बैंकहरुले ऋण उठाइरहेको बताए । बैंकहरुले उद्योग व्यवसायी नै तर्सिने गरी दबाब नदिएको उनको भनाई थियो । तर यदि त्यस्तो समस्या नै हो भने प्राथमिकताका साथ छलफल गर्ने उनले बताए ।

यसो भन्छ राष्ट्र बैंक

कोरोनाबाट प्रभावितको वर्गिकरण गरेर कुन क्षेत्र बढी प्रभावित भए भनेर त्यसका आधारमा राष्ट्र बैंकले सहुलियत दिने व्यवस्था गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षामा पनि यसलाई राष्ट्र बैंकले अझै स्पष्ट पारेको छ । राष्ट्र बैंकको व्यवस्था भन्दा बाहिर कुनै पनि बैंक तथा वित्तिय संस्था जान नपाउने प्रवक्ता गुणाकर भट्टले बताए । ‘राष्ट्र बैंकले कोरोना प्रभावित ऋणीका विषयमा स्पष्ट व्यवस्था गरेको छ ,त्यो व्यवस्था विपरित केही गर्न पाईँदैन ।’ प्रवक्ता भट्टले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?