राष्ट्रपति कार्यालयले सर्वोच्चमा संसद विघटनको लिखित जवाफ आज पेस गर्दै

काठमाडौं । संसद विघटनविरुद्ध राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतले मागेको लिखित जवाफ आइतवार (आज) पेस गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेसँगै त्यसविरुद्ध सर्वोच्चमा परेको रिटमा संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको थियो ।

पुस १९ गते अर्थात आजसम्मको समयसीमा दिँदै सर्वोच्चले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गरेको थियो ।

संवैधानिक कानुनी परामर्श सकिएकाले त्यसको जवाफ पेश गर्न लागिएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यस्तै प्रधानमन्त्री

कार्यालयले पनि आज नै महान्यायधिवक्ता कार्यालयले आज नै सर्वोच्चको लिखित जवाफ पेस गर्न लागेको जनाइएको छ ।

पुस ५ गते आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाइ संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई तत्काल अनुमोदन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधी निर्वाचनको घोषणा गरेकी थिइन् ।

सरकारको उक्त कदमलाई असंवैधानिक भन्दै सर्वोच्चमा एक दर्जन भन्दा बढी रिटहरु परेका छन् ।

गत पुस १० गते संवैधानिक इजलासले सरकारसँग संसद विघटन गर्नुको लिखित जवाफ माग गर्दै अर्को पेसी पुस २२ गतेका लागि तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?