लमजुङमा विद्युत उत्पादन घट्यो

RSS
0
Shares

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा यतिबेला विद्युत उत्पादन घट्न थालेको छ । जिल्लाका उत्पादन थालेका आयोजनामा चिसोका कारण आवश्यक पानी नहुँदा विद्युत उत्पादन घट्न थालेको हो ।

जिल्लाको बेँसीशहर नगरपालिका–१ दलालमा रहेको जिल्लाकै पहिलो तथा ठूलो ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनामा ३६ मेगावाट विद्युत् उत्पादन घटेको छ । आयोजनाका लागि चाहिने पर्याप्त पानी मर्स्याङ्दी नदीमा नहुँदा उत्पादन घट्दै जाने क्रममा हाल ३४ मेगावाट विद्युत मात्र उत्पादन भइरहेको मध्यमर्स्याङ्दी जलविद्युत आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताउए । उनले भने, “आयोजनामा पूरै क्षमतामा विद्युत उत्पादन हुँदै आए पनि केही समयदेखि उत्पादन घट्दै गएको र अझै विद्युत उत्पादन घटेर २७÷२८ मेगावाटसम्म पुग्नेछ ।” मध्यमर्स्याङ्दी ३५÷३५ मेगावाट क्षमताको दुई टर्बाइन गरी ७० मेगावाट क्षमताको जलविद्युत आयोजना हो ।

मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रका केन्द्र प्रमुख शाहका अनुसार पानी कम भएकाले मङ्सिरको दोस्रो हप्ताबाट विद्युत् उत्पादन घट्न थालेको र अझै विद्युत् उत्पादन घट्ने क्रममै रहेको छ । आगामी फागुन महिनाको अन्तिमसम्म पुग्दा विद्युत् उत्पादन निकै कम हुने आयोजनाले जनाएको छ । यस आयोजनामा विगतको वर्षमा विद्युत् उत्पादन घटेर २६ मेगावाटसम्म पुग्ने गरेको थियो । सन् २००० मा निर्माण शुरु भई सन् २००८ मा सम्पन्न भएसँगै आयोजनाबाट विद्युत उत्पादन हुन थालेको थियो । २७ अर्ब २० करोड लागतमा आयोजना निर्माण भएको थियो ।

त्यस्तै जिल्लाकै दोस्रो ठूलो आयोजना मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत घट्न थालेको आयोजनाले जनाएको छ ।

केही दिनदेखि उत्पादन १२ मेगावाट विद्युत घटेको र अझै घट्ने क्रममा रहेको बताइएको छ । बर्षेनी विद्युत उत्पादन झनै घट्ने गरेको र माघ महिनासम्म पुग्दा २८ मेगावाटसम्म मात्र विद्युत् उत्पादन हुने आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए । यस आयोजनामा २५ मेगावाटसम्म विद्युत घट्ने गरेको छ । सन २०१३ जनवरीदेखि आयोजनाको निर्माण थालनी गरी सन् २०१७ जनवरीदेखि व्यावसायिकरूपमा माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजनाले विद्युत् उत्पादन थालेको थियो । सो आयोजना करिब १६ अर्बमा निर्माण सम्पन्न भएको थियो । चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी रहेको छ ।

यी ठूला आयोजनामा मात्र नभई जिल्लाका पाँच मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र दुई मेगावाटको छ्याङ्दी आयोजनामा समेत बिजुली उत्पादन कम हुन थालेको छ । मध्यमर्स्याङ्दी, माथिल्लो मस्र्याङ्दी ‘ए’ र यी आयोजनाले बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएर देशलाई नै उज्यालो बनाउनका लागि टेवा पुर्याइरहेको छ । ती आयोजनामा विद्युत् उत्पादन कम हुँदा आर्थिकरूपमा पनि मुलुकमै प्रभाव पारेकोे देखिन्छ ।

जिल्लामा एक दर्जन आयोजना निर्माणाधीन रहेका छन् भने केही आयोजना निर्माण हुने प्रक्रियामा छन् । निर्माणाधीन रहेका आयोजनामध्ये केही आयोजनाले केही महिनाभित्रै विद्युत उत्पादन गर्दै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिरहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?