नेकपा प्रचण्ड–नेपाल पक्षले गर्‍यो संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा (तालिका सहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

प्रचण्ड–नेपाल पक्षले शनिवार राजधानीमा पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ सम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

आन्दोलनको कार्यक्रमतालिका अनुसार पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा भेला तथा संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ । साथै प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति पनि गठन गरिनेछ ।

त्यसैगरी पुस २१ गते संघीय राजधानी र देशका विभिन्न शहरहरुमा राजनीतिक पार्टीहरुसँग प्रधानमन्त्री केपी ओलीको कदमको विषयमा अन्तक्रिया कार्यक्रम आयोजना गरिनेछ र २३ गते नागरिक समाजसँग अन्तरक्रिया गरिनेछ ।

त्यसपछि २४ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई विरोधपत्र बुझाइनेछ ।

पुस २६ गते सडक संविधान बाचन–व्याख्या कार्यक्रम गरिनुका साथै पुस २८ गते देशव्यापी घरघरमा पर्चा वितरण र गाउँ तथा टोलसम्म कालोझण्डा गाड्ने लगायतका विरोध कार्यक्रमहरु गरिने तालिकामा उल्लेख छ ।

यसैगरी पुस २९ गते निर्वाचनस्तरीय भेला, ३० गते सबै वडाहरुमा विरोध प्रदर्शन, माघ ५ गते पालिकाहरुमा विरोध प्रदर्शन र १० गते काठमाडौं उपत्यकालगायत देशभरका शहरी क्षेत्रमा मोटरसाइकल -याली निकालिने छ भने माघ १६ र १७ गते सबै प्रदेशमा विरोध सभा राखिएको छ ।

माघ २२ गते देशव्यापी मसालजुलुस गरिनेछ भने माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा गरिनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि हमला गरेर लोकतन्त्रको सबै मान्यतालाई क्षत विक्षत बनाएको आरोप लगाउँदै प्रचण्ड–नेपाल पक्षले ओलीको ‘असंवैधानिक’ कदम नसच्चिँदासम्म आन्दोलन नरोकिने प्रतिबद्धता जनाएको छ ।

यही पुस ५ गते बिहान आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा ओलीले मन्त्रीहरु समक्ष संसद् विघटनको प्रस्ताव गरेका थिए ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरी दुई चरणमा २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभा चुनावको मिति तोकेकी थिइन् । त्यसलगत्तै नेकपा प्रचण्ड माधव नेपाल समूहले चरणवद्ध रुपमा देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?