कंगोको बुनियामा १७ वर्षपछि नेपाली सेना खटाइयो

काठमाडौँ- नेपाली शान्ति सैनिकहरूलाई १७ वर्षपछि कंगोको बुनिया क्षेत्रमा परिचालन गरिएको छ ।

नेपाली शान्ति सैनिक द्वन्द्वग्रस्त कंगोको मध्य क्षेत्रमा रहेको बेनी इलाकामा र गत केही वर्षदेखि दक्षिण क्षेत्रमा रहेको बालुगुङमा तैनाथ थियो । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार इटुरी क्षेत्रका मेयर जिन वमाइन्सा साइडीले त्यहाँ भवानी दल गणका गणपति प्रमुख सेनानी प्रभाकर खड्कासँगको भेटघाट नेपाली सेना परिचालन भएकोमा खुसी व्यक्त गरेका छन् ।

नेपाली शान्ति सैनिक बुनिया क्षेत्रमा परिचालित हुँदा स्थानीय जनता हर्षित एवं आश्वस्त भएको उनको धारणा थियो । मेयर साइडीले त्यस क्षेत्रको सुरक्षा स्थितिमा सुधार आउनेमा आफू विश्वस्त रहेको पनि बताएका छन् । मेयरले विगतमा इटुरी क्षेत्रको बुनियालगायत फताकी, अभेवा, बोगोरो इलाकाहरूमा क्रियाशील तत्कालीन विद्रोही समूहहरूविरुद्ध नेपाली शान्ति सैनिकहरूले सञ्चालन गरेको विभिन्न सफल सैनिक कारबाहीहरूको स्मरण गरेका थिए ।

कंगोस्थित संयुक्त राष्ट्रसंघीय मिसनको उच्च नेतृत्वले विगतमा नेपाली शान्ति सैनिकले यस क्षेत्रमा छाडेको राम्रो छाप र जितेको विश्वासको परिणामस्वरूप नेपाली शान्ति सैनिकलाई पुनः त्यस क्षेत्रमा तैनाथ गराइएको जंगी अड्डालाई जनाएको छ ।

सन् २००५ मा यसै क्षेत्रमा मानव अधिकार हननसम्बन्धी अनुसन्धानमा खटिएको संयुक्त राष्ट्रसंघको टोलीलाई विद्रोहीहरूको आक्रमणबाट जोगाउने क्रममा सेनानी कविन्द्रजंग थापाको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?