२०७७, १७ पुष शुक्रवार १७:३९

नेपाल टेलिकमले ल्यायो ‘एनटी टिभी’ सेवा (जडान शूल्कसहित)


प्रकाशित मिति : २०७७, १७ पुष शुक्रवार १७:३९

काठमाडौं । नेपाल टेलिकमले आज शुक्रवार देखि इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टिभी’ सेवा शुरु गरेको छ । एउटै तारमार्फत ग्राहकलाई विभिन्न सेवा दिने उद्देश्यले टेलिकमले एनटी टिभीको शुरुवात गरेको हो ।

एनटी टिभी सेवाको आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुरुवात गरेका छन् । टेलिकमले उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको फाइबरमार्फत एनटी टिभी सञ्चालनमा ल्याएको हो । टेलिकमले आजदेखि ‘फाइबर टु दि होम’ एफटिटिएचमार्फत टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न थालेको हो ।

टेलिकमले ३९ जिल्लामा फाइबर सेवा विस्तार गरिसकेको छ । आजदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र बनेपामा एनटी टिभी सेवा सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकाका हात्तीगौँडा, छाउनी, कीर्तिपूर, बलम्बु, गोठाटार, चाबहिल, जोरपाटी, नक्साल, थैव, सैबु, ग्वार्कोलगायतस्थानमा फाइबर सेवा पुगिसकेको छ । अब छिट्टै उपत्यका बाहिर पनि एनटी टिभी सेवा उपलब्ध गराउने टेलिकमले जनाएको छ । कम्पनीले गत फागुनमा पहिलो चरणको परीक्षण प्रसारण गरेको थियो ।

टेलिकमले पाँच वर्षदेखि एनटीफाइबरमार्फत ग्राहकलाई उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध गराउँदै आएको छ । टेलिकमले गत डिसेम्बर महिनामा अन्य कम्पनीभन्दा बढी ग्राहकलाई उच्चगतिको इन्टरनेट जडान गर्न सफल भएको छ । “फाइबरको नयाँ ग्राहक बनाउने कम्पनीका रुपमा टेलिकम एक नम्बरमा परेको छ”, कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भने, “टेलिकम फाइबरमार्फत एकैसाथ टेलिफोन, इन्टरनेट र टिभी उपलब्ध गराउने पहिलो कम्पनी बनेको छ ।”

हालसम्म अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेट र टिभी सेवा मात्र दिँदै आएका छन् । प्रबन्ध निर्देशक अधिकारी हरेक घरमा एकवटा तार जडान गरेपछि अर्को सेवा लिनका लागि फेरि अर्को तार जोड्नुपर्ने बाध्यता टेलिकमले अन्त्य गरेको बताए । टेलिकमले सञ्चालनमा ल्याएको उक्त सेवाले शहरी सौन्दर्यलाई पनि सघाउ पुर्‍याउनेछ ।

टेलिकमले ‘एक घर, एक फाइबर कनेक्सन’ को उद्देश्य राखेर काम गरिरहेको पनि उनले बताए। ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई कार्यान्वयन गर्न पनि यसले सघाउ पुर्‍याउने प्रबन्ध निर्देशक अधिकारीको भनाइ छ । उनले यो सेवालाई देशभर विस्तार गरिने पनि बताए ।

“डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न यो कोशेढुङ्गा सावित भएको छ”, उनले भने । ग्राहकको मागलाई ध्यान दिँदै टेलिकम एडिएसएलबाट फाइबर सेवामा गएको उल्लेख गर्दै उनले दूरसञ्चार क्षेत्रमा आएका नवीनतम प्रविधिलाई भित्र्याउन आफूहरु तयार रहेको बताए । ग्राहक सेवा निर्देशनालयका निर्देशक अनन्तराम सिंह प्रधानले टेलिकमले पाँच वर्षदेखि फाइबरमार्फत उच्च गुणस्तरको टेलिफोन र उच्चगतिको इन्टरनेट ग्राहकसमक्ष पुर्‍याउँदै आएको भए पनि आजदेखि इन्टरनेटमा आधारित टेलिभिजन पनि शुरु गरिएको बताए ।

निजी क्षेत्रको भन्दा सहुलियत मूल्य

कम्पनीले दुई प्याकेजमा टिभी सेवा उपलब्ध गराएको छ । जसमा सिङ्गल टिभी कनेक्सनसहित १५ एमबीपीएस फाइबर इन्टरनेट ९बेसिक टिभी प्याकेज० को मूल्य एक हजार २३० देखि १३ हजार २२० सम्म तोकेको छ । एक महिनाका लागि एक हजार २२०, तीन महिनाको तीन हजार ५३० र एक वर्षको १३ हजार २२० रहेको छ ।

यसैगरी इन्टरनेटबाहेक एनटी टिभी र निःशुल्क ल्यान्डलाइनको मूल्य एक महिनाको ४८०, तीन महिनाको एक हजार ४५० र एक वर्षको पाँच हजार ७८० तोकेको छ । प्रिमियम एनटी टिभीसहित फाइबर इन्टरनेटको मूल्य एक हजार चार सयदेखि २४ हजारसम्म तोकिएको छ । पन्ध्र एमबीपीएस अनलिमिटेड इन्टरनेटर, एनटी टिभी र टेलिफोन ९निःशुल्क० एक महिनाको एक हजार चार सय, तीन महिनाको चार हजार एक सय र एक वर्षको १५ हजार रहेको छ ।

तीस एमबीपीएस अनलिमिटेड इन्टरनेट, एनटी टिभी र टेलिफोन ९निःशुल्क० प्याकेजको एक महिनाको एक हजार ७५०, तीन महिनाको पाँच हजार र एक वर्षको अठार हजार एक सय, ४० एमबीपीएस प्याकेजको एक महिनाको दुई हजार ५०, तीन महिनाको छ हजार र एक वर्षको १९ हजार ७०० तोकिएको छ । उनका अनुसार ६० एमबीपीएस इन्टरनेटसहित एक प्याकेजको प्याकेज दुई हजार ४५०, तीन महिनाको सात हजार २०० र एक वर्षको २४ हजार पाँच सय रहेको छ । टेलिकमले एनटी टिभी र टेलिफोन ९निःशुल्क० को प्याकेजसमेत उपलब्ध गराएको छ । उक्त प्याकेजको एक महिनाको आठ सय, तीन महिनाको दुई हजार ३५० र एक वर्षको आठ हजार ३०० तोकेको छ ।

‘विश्वासिलो सेवा प्रवाह गर्न निर्देशन’

एनटी टिभी सेवाको शुभारम्भ गर्दै मन्त्री गुरुङले सेवालाई भरपर्दो र विश्वासिलो बनाउँदै सेवा प्रवाहलाई ग्राहकमैत्री बनाउन निर्देशन दिए । उनले दूरसञ्चार क्षेत्रमा आविष्कार भएका प्रविधिको अध्ययन गरी नेपालमा पनि शुरुवात गर्न आग्रह गरेका छन् । टेलिकमलाई प्रतिस्पर्धी कम्पनीका रुपमा अगाडि लैजान मन्त्रालयले सक्दो सहयोग गर्ने पनि उनले बताए ।

कार्यक्रममा टेलिकम सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सेवामा गुणात्मकताका साथै दीगो रुपमा सञ्चालन र २४ सै घण्टा सेवा दिनुपर्ने चुनौती रहेको औँल्याउँदै ग्राहकको गुनासोलाई तत्काल सम्बोधन गर्नेगरी काम गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस