नेकपा फुटले पार्टीलाई मात्रै नभएर देशलाई नै असर पार्छ : मोहन विक्रम सिंह

काठमाडौं । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको असर नेकपालाई मात्रै नभएर सिंगो देशलाई पर्ने टिप्पणी परेका छन् । नेकपालाई फूटबाट बचाउनको लागि आफूहरुले धेरै पहल र जोड दिएको भएपनि उक्त प्रयास सफल हुन नसकेको उनको भनाई छ ।

आज (शुक्रवार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महामन्त्री सिंहले नेकपा फूटको पछाडि राजनीतिक वा संवैधानिक कारण नभएर नेताहरुबीचको अन्तरकलह नै मुख्य कारण रहेको दाबी गरे । उनले भने,‘नेकपाको यो फूट अराजनीतिक प्रकारको छ, यसले देशलाई दीर्घकालिन असर पारेको छ, यसको पहिलो परीणाम संसद विघटन भयो । कोरोनाले मुलुकलाई दीर्घकालिन असर पारेको बेला र राष्ट्रियतामाथि गम्भीर संकट आएको बेला, नेकपा फुट्नु दुःखद् छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पछिल्लो समय राजावादीहरु प्नि सलबलाएको र उनीहरुको चलखेल सुरु भएकोले गणतन्त्र÷धर्मनिरपेक्षता र संघीयता पक्षधर शक्तिहरुबीच बलियो एकता आवश्यक रहेको औंल्याए । उनले नेकपा फूटको प्रमुख कारण वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै भएको पनि दाबी गरे । उनले ओलीले विधि र प्रक्रियालाई आत्मसात् नगरेको गुनासो पोखे । उनले पार्टीभित्र विधि र प्रक्रिया हुने र बहुमत र अल्पमतपनि ओलीले नअपनाएको आरोप लगाए ।

नेपालमा धेरै अन्तरकलह र राजनीतिक अस्थिरता सिर्जना गर्न विदेशी शक्तिहरु उद्धत रहेको पनि उनको भनाई छ । उनले भने,‘जसरी भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयलले नेपालमा रहस्यमयी भ्रमण गरे, यो आपत्तिजनक छ । भारत नेपाललाई हिन्दूराष्ट्र बनाउन चाहन्छ । राजसंस्था ल्याउच चाहन्छ् । अमेरिकाको पनि आफ्नै स्वार्थ छ । अमेरिकी सहयोग सम्झौता एमसीसी ईण्डो–प्यासिफिक स्ट्राटेजीअन्तर्गत नै हो । ओली सरकारले एमसीसी पारित गर्न पूरा प्रयत्न गरेको थियो । नेकपा फुटपछि चीनको पनि भूमिका बढेको छ । चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेर फर्किएको छ ।’

उनले नेपालमा अहिले भैरहेको राजावादीहरुको आन्दोलनमा बाहृय शक्तिको हात रहेको आरोप लगाए । उनले भने,‘राजावादीहरु आफ्नो शक्तिमा सडकमा आएका होईनन् । यसमा भारतको हात छ । भारतीय सत्तारूढ शक्ति नेपाललाई हिन्दूराष्ट्र बनाएर आफ्नो देशमा पनि प्रभाव पार्न चाहन्छ ।’ उनले नेपालमा जतिपनि संकट आएका छन्, ती सबै संकटलाई आफूहरुले पार लगाएको पनि विश्वास दिलाए । उनले भने,‘अहिलेको स्थितिलाई पनि हामीले सामना गरेर यो स्थितिबाट मुलुकलाई पार लगाउँछौं ।’

प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको कारण आफ्नो पार्टीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको उनले स्पष्ट पारे । र, सरकारविरुद्ध आन्दोलनसमेत सुरु गरिएको उनले जनाए । उनले भने,‘हाम्रो शक्ति सानो छ, तर विचार र नीति भने स्पष्ट छ । सरकारविरुद्ध सुरु गरिएका आन्दोलनमा हाम्रो साथ र समर्थन छ । प्रचण्ड पक्ष, नागरिक समाजले सुरु गरेका आन्दोलनमा हाम्रो समर्थन हुन्छ ।’ उनले ओली सरकार जनताको शक्तिको अघि धेरै दिन नटिक्नेसमेत दाबी गरे । उनले भने,‘ओली सरकार जनताको शक्तिसामू पराजित हुनेछ । प्रतिगमनकारी शक्ति अवश्य पराजित हुन्छन् ।’ उनले नेकपालाई आफूहरुले कम्युनिष्ट पार्टी नै नमानेको पनि स्पष्ट पारे ।

उनले आफूलाई काम गर्न दिईएन भन्ने प्रधानमन्त्री ओलीको दाबीमा कुनै सत्यता नभएको पनि जिकिर गरे । उनले भने,‘ओलीको कदम असंवैधानिक छ । ओली सरकारले काम गर्न नसक्नुको कारण उसको नीति नै गलत छ । उसको कार्यनीति नै प्रष्ट छैन् ।’ मुलुकमा चलेको अहिलेको प्रतिगमनको हावाको पछाडि ओली नै मुख्य दोषी रहेको पनि उनको गम्भीर आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?